कोलम्बो ।

श्रीलंकाले इन्धनको खुद्रा मूल्यमा करिब ६ प्रतिशतसम्म कटौती गरेको छ। नयाँ मूल्यसूचीअनुसार सबैभन्दा बढी प्रयोग हुने अटो डिजेलको मूल्य प्रतिलिटर २५ श्रीलंकाली रुपैयाँले घटाएर ३८२ रुपैयाँ कायम गरिएको छ भने अक्सेन–९२ पेट्रोलको मूल्य २० रुपैयाँले घटाएर ४१४ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ।
विश्व बजारमा कच्चा तेलको मूल्य घट्दै गएपछि श्रीलंका सरकारले चार महिनापछि पहिलोपटक इन्धनको मूल्य घटाएको हो। यसअघि अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र आपूर्ति समस्याका कारण श्रीलंकाले पटक–पटक इन्धनको मूल्य बढाएको थियो।
यद्यपि सुपर डिजेल, अक्सेन–९५ पेट्रोल र मट्टितेलको मूल्य भने यथावत् राखिएको छ। नयाँ मूल्य तत्काल लागू भएको श्रीलंकाली अधिकारीहरूले जनाएका छन्।