केपी शर्मा ओली र रमेश लेखक लाई हाजिर जमानीमा छाड्ने निर्णय

हाम्रो सन्देश संवाददाता

२६ चैत, काठमाडौं ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक सर्वोच्च अदालतको आदेश अनुसार हाजिरी जमानीमा रिहा हुन लागेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एक उच्च अधिकारीका अनुसार दुवै नेता खोजीमा उपस्थित हुने सुनिश्चित गर्दै रिहा गरिनेछ।

उनीहरूलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो। यसअघि जेन-जी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसको आधारमा अनुसन्धान अघि बढाइएको थियो।

यो प्रक्रियामा दुवैलाई तेस्रोपटक म्याद थप गरी अनुसन्धान गरिँदै थियो। तर, सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिटमा सुनुवाइ गर्दै चौथो पटक म्याद नथप्न र अनुसन्धान जारी राख्दै हिरासतमुक्त गर्न आदेश दिएको थियो। अदालतको सो आदेशअनुसार ओली र लेखक हाजिरी जमानीमा रिहा हुन लागेका हुन्।

यो निर्णयसँगै दुवै नेताले पक्राउमा नभई पनि नियमित प्रहरी उपस्थितिमा अनुसन्धानमा सहभागी हुने छन्।