८ माघ, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का झापा–२ का उम्मेदवार स्वागत नेपाललाई साइबर ब्युरोले सोधपुछका लागि बोलाएको विषयमा राप्रपाले आपत्ति जनाएको छ।
साइबर ब्युरो भोटाहिटीको नम्बरबाट फोन गरेर नेपाललाई हाजिर हुन भनिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिँदै यसलाई पक्राउ गर्ने प्रयासका रूपमा व्याख्या गर्दै उनले सरकारको नियतमाथि प्रश्न उठाएका छन्।
यसअघि पनि नेपाललाई एक अभिव्यक्तिको विषयमा साइबर ब्युरोले पक्राउ गरेको थियो। ‘यो नागरिक सरकार होइन’ र ‘नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएर नागरिक सरकार बनाउनुपर्छ’ भन्ने अभिव्यक्तिका कारण सोधपुछका लागि पक्राउ परेका नेपाल म्याद थपबिना रिहा भएका थिए।
यसपटक भने राप्रपाले राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा नेपालले दिएको भनिएको ‘हिंसाजन्य’ अभिव्यक्तिका कारण सोधपुछका लागि बोलाइएको साइबर ब्युरोको आरोप छ।