अर्थतन्त्र कमजोर हुनुको प्रमुख कारण विचौलियाहरुको विरोध होः अर्थविद् न्यौपाने

हाम्रो सन्देश संवाददाता

१ भदौ, काठमाडौं ।

अर्थविद् प्रा.डा.गोपीलाल न्यौपानेले नेपालको अर्थतन्त्र कमजोर हुनु्मा, नेपालमा गरिबी बढ्नुमा, नेपालमा बेरोजगारी बढ्नुमा केही आधारभूत बुझाइहरु गलत रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचौलियाहरुलाई गाली गरेर र घृणा फैलाएर मात्रै देशको उन्नति र प्रगति हुन नसक्ने बताएका हुन् । उनले विचौलियाविहीन देश र समाज हुनै नसक्ने दाबी गरे ।

‘नेपालमा हामीले ‘मिडल म्यान’ को एकदमै विरोध गर्यौं । ठूला–ठूला नेताहरुले प्रधानमन्त्रीको बेडमै विचौलिया पुग्छ भने । म आग्रह गर्न चाहन्छु– विचौलियाविना विजनेश चल्दै चल्दैन । एउटा मलाई देश देखाइदिनुस्, जहाँ विचौलिया नहोस् । विचौलियाले नै हो कारोबारलाई सजिलो पार्दिने । जस्तै, भाटभटेनी सुपरमार्केट विचौलिया हो । यसले उत्पादकबाट सामान किनेर ल्याउँछ, नेपालका उपभोक्तालाई बेच्छ । त्यसैले त्यो विचौलिया हो । उसले कमिशन र प्रोफिटको लागि काम गर्छ । मेरो आग्रह छ– विचौलियालाई घृणा गर्ने होइन । उसलाई आफ्नो हैसियतमा राख्ने हो । विचौलिया नराम्रो हो र ?’ प्रश्न गर्दै उनले भने ।

साथै, पुँजीवादको विरोधले पनि देश विकास हुन नसकेको उनको भनाइ छ । एकातिर पुँजीवादलाई खतम गर्नुपर्छ भनेर अर्कोतिर उद्योग खुलेन, रोजगारी भएन, मान्छे विदेशिए भनेर प्रचार भइरहेको उनले बताए । पुँजीवाद नभइ देश औद्योगीकरण र आधुनिकीकरण नहुने उनको भनाइ छ । समाजवादको खोल ओढेर जनतालाई गरिबको गरिब राख्ने प्रपञ्च भइरहेको उनको भनाइ छ ।