कांग्रेसको देउवा समूह सर्वोच्च अदालत जाने

हाम्रो सन्देश संवाददाता


माघ, ३ काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले कानूनी र राजनीतिक प्रतिवादका लागि सर्वोच्च अदालत जाने भएको छ ।
आज बसेको बैठकले आधिकारिकताबारे निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको हो । नेता प्रकाशशरण महतले दिएको जानकारी अनुसार निर्वाचन आयोगको निर्णयलाई अस्विकार गर्दै अदालात जाने निर्णय गरेको बताइएको छ । कानूनी उपचार र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेका छौं’, नेता महतले भने, ‘ हामी भोलि ९आइतबार(सर्वोच्च)जान्छौं ।’

नेता महतले निर्वाचन आयोगले आफूहरुलाई बोलाउँदा पनि नबोलाएर कुनै औपचारिकतासमेत पूरा नगरेर विशेष महाधिवेशन पक्षलाई आधिकारिकता दिएको आरोप लगाए । ‘नजिर, विधान, निर्वाचनसम्बन्धी व्यवस्था कुनै पनि पालना नगरेको हाम्रो ठहर छ’, उनले थपे, ‘अन्यायपूर्ण निर्णय भएकोले सर्वोच्च अदालतमा केस प्रस्तुत गर्छौं ।

उनले निर्वाचन आयोगले निर्णय गर्दैमा आधिकारिक नहुने भन्दै अदालत जान लागेको बताए । यसका लागि राजनीतिक प्रतिवादको पनि तयारी गरेको उनले बताए । त्यसका लागि विभिन्न स्वरुपमबारे छलफल अघि बढाएको उनको भनाइ छ ।

शुक्रबार मात्रै निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित भएका गगन थापाहरुलाई आधाकारिकता दिएको छ । आधिकारिकता पाएसँगै गगन थापाहरुले पार्टी गतिविधि सुरु गरिसकेका छन् । पार्टी केन्द्रीय कार्यालय भने देउवाहरुले नै प्रयोग गरिरहेका छन् ।