रामेछापमा निर्माणाधीन पक्की पुल निर्माण सम्पन्न नहुँदै भत्कियो

हाम्रो सन्देश संवाददाता

८ असार, रामेछाप ।

जिल्लाको मन्थली नगरपालिका–६ कुनाउरी र वडा नम्बर ७ भटौली जोड्ने तामाकोशीमाथिको निर्माणाधीन पक्की पुल निर्माण सम्पन्न नहुँदै भत्किएको छ।

गत वैशाख २६ गते निर्माणको क्रममा स्ल्याब भाँचिएपछि पुनर्निर्माणको काम भइरहेको थियो। तर आइतबार बिहान सोही स्ल्याब पूर्णरूपमा भत्किएर तल झरेको स्थानीय सुरज श्रेष्ठले जानकारी दिए। पुल भत्किएपछि घटनास्थलमा स्थानीयवासीको भीड लागेको छ।

कालिका–कल्पवृक्ष जेभीद्वारा निर्माणाधीन २३० मिटर लम्बाइ र ११ मिटर चौडाइको उक्त पुल सडक विभागको पुल शाखाले २०७८/७९ मा डिजाइन एन्ड विल्ड मोडेलअन्तर्गत ठेक्का दिएको हो। सरकारसँग २२ करोड ५५ लाख ४० हजारमा सम्झौता भएको पुलमा हालसम्म ६० प्रतिशतभन्दा बढी रकम निर्माण कम्पनीले भुक्तानी पाइसकेको छ।

पुल २०८२ भदौमा सम्पन्न गर्ने लक्ष्य भए पनि आगामी असारमै काम सकिने चर्चा थियो। पुल सम्पन्न भएमा मन्थली–भटौली–खाँडादेवी–दोरम्बा शैलुङ क्षेत्रका बासिन्दालाई छोटो दूरीमा राजधानी काठमाडौँसम्म यात्रा सहज हुने अपेक्षा गरिएको थियो।

तर निर्माण सकिनुअघि नै पुल भत्किएपछि गुणस्तरप्रति गम्भीर प्रश्न उठेका छन्। स्थानीयवासीले तत्काल छानबिन र दोषीउपर कारबाहीको माग गरेका छन्।