बार निर्वाचन : दोस्रो दिनको मतगणना सुरु, ६ वटा केन्द्रको गनिँदै

हाम्रो सन्देश संवाददाता

२६ चैत, काठमाडौं ।

नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको दोस्रो दिनको मतगणना सुरु भएको छ । निर्वाचन समितिका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाका अनुसार आज चितवन, पोखरा, हेटौँडा, बाग्लुङ, पर्सा र जनकपुर मतदान केन्द्रको मतपेटिकाबाट गणना सुरु गरिएको हो ।

सोमबारदेखि सुरु मतगणनामा राति ८ बजेसम्म ११६० मत गणना भएको थियो । जसअनुसार बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले ७०७ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले ४३४ मत ल्याएका थिए । यस्तै अध्यक्षका अन्य उम्मेदवारहरू राजु कैतीले मात्र ५ मत पाउँदा उज्ज्वल घिमिरेले २ तथा आशिष पौडेलले जम्मा ६ मत प्राप्त गरेका छन् ।

यस्तै मिश्र प्यानलका महासचिव उम्मेदवार केदारप्रसाद कोइरालाले ७१२ मत पाउँदा श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेले पाएको मत ३७५ रहेको छ ।

बारको निर्वाचनमा ६९.९६ प्रतिशत मत खसेको छ ।

देशभर योग्य मतदाता ९ हजार ९९७ रहेकोमा ७ हजार ९९५ कानुन व्यवसायी मतदानमा सहभागी भएका थिए ।