दलहरू जनचाहना विपरीत चल्नुहुँदैनः अध्यक्ष लिङ्देन

हाम्रो सन्देश संवाददाता

२८ साउन, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरू नेपाली जनताको चाहना विपरीत चल्न नहुने बताउनुभएको छ ।

केदारेश्वर महादेवमणि सेवा आश्रम पोखराद्वारा आज मन्दिर परिसरमा आयोजित बोलबम पदयात्रापछिको धार्मिकसभालाई सम्बोधन गर्नुहुँदै उहाँले राजनीतिक दर्शनभन्दा देश र धर्म ठूलो भएकाले दलहरूले सोहीअनुसार काम गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय हिन्दूराष्ट्र कायम हुनुपर्छ भन्ने माग उठिरहेका बेला ठूला राजनीतिक दलहरूले सोच्नुपर्ने बेला आएको उहाँको भनाइ थियो ।

यसअघि पोखरा–१ स्थित सेती नदी किनार गाईघाटबाट सुरू भएको बोलबम पैदलयात्रा बगर, नदीपुर, महेन्द्रपुल, पृथ्वीचोक, सिमलचौर, रत्नचोक हुँदै केदारेश्वर महादेवमणि मन्दिर परिसरमा पुगेर धार्मिकसभामा परिणत भएको थियो ।