सुन्दरमणि दीक्षितको आरोप, ‘प्रचण्डलाई विश्वास गर्न सकिँदैन, महरा छुटाउन उनकै हात छ’

हाम्रो सन्देश संवाददाता

१४ चैत, काठमाडौं ।

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा छुट्नुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हात रहेको दाबी गरेका छन् ।
आज (बुधबार) समसामयिक विषयमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डलाई विश्वास गर्न नसकिने बताए ।

साथै, उक्त प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अडान लिन नसकेको उनले बताए । उनले भने,‘आज रविलाई कुनै पनि डर थिएन प्रचण्डसँग । आज रविको पार्टी प्रचण्डलाई चाहिएको छ, यो सरकार टिकाउनका लागि । आज रविले होईन यो म मान्दिनँ, महरालाई म छोड्दिनँ भन्न सक्नुपथ्र्यो । त्यो भएन ।’

साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा जानु नै गलत भएको उनको टिप्पणी छ । जनताले रवि लामिछानेसँग धेरै अपेक्षा गरेपनि त्यो पुरा नहुने निश्चित भएको उनको भनाइ छ । रास्वपाले प्रतिपक्षमा बसेर सरकारका गलत कामको प्रतिवाद गरोस् भन्ने जनताको चाहना पुरा नभएको उनले बताए ।

‘रवि लामिछानेको विषयमा कस्तो पर्यो भनेदेखि म अलिकति दुःखी छु । हामीले त्यो पार्टी र व्यक्तिबाट धेरै-धेरै आशा गर्यौं ।’ उनले भने, ‘जब उहाँ निर्वाचित भएर आउनुभयो, हाम्रो कुरा के थियो भने- तपाईँ सरकारमा नगइदिनुस् । प्रतिपक्षमा बसेर सरकारले गरेको नचाहिँदा काममा प्रश्न उठाउनुस् । २१ सिट छ, तपाईँ सक्नुहुन्छ भन्यौं पनि । तर, सरकारमा जानुभयो । सरकारमा नगई कसरी काम गर्ने भन्नुभयो ?’

साथै, गृहमन्त्री लामिछानेले आफू प्रतिपक्षमा बस्दा उठाएका कुराको विरुद्धमा काम भइरहेको बताए । लामिछानेले प्रतिपक्षमा रहँदा सहकारी ठगी गरी फरार रहेका जिबी राईलाई ७ दिनभित्र पक्रिएर कानुनी कारबाहीको दायरामा ल्याउँछु भने पनि उनी सरकारमा गएपछि काम नगरेको दिक्षितको भनाइ छ । साथै, सहकारी ठगी काण्डमा लामिछानेले आफ्नोबारे प्रष्ट पार्न आवश्यक रहेको उनले बताए । जनताले लामिछानेमाथि शंका गर्न थालिसकेको उनको भनाइ छ । ‘सहकारीमा यसरी रवि लामिछाने मुछिए, उनले भन्छन् होईन, पीडित भन्छन् हो । आम नागरिकले शंका गरिसके । छिनोफानो त गर्नुपर्यो नि,’- उनले भने ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दा लामिछानेले धन्यवाद दिनुपर्नेमा उल्टै प्रतिवादमा उत्रिएको भन्दै आपत्ति जनाए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारण लामिछानेले केही गर्न नसक्ने उनको भनाइ छ । यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि प्रचण्ड हाबी भएको कारण केही गर्न नसकेको उनको दाबी छ ।

संसदीय व्यवस्था असफल भएको उनले बताए । अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुको विकल्प नरहेको उनले बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अबलम्बन गर्दा पूर्वराजा ज्ञानेन्द्रसमेत सहभागी हुनसक्ने उनले बताए ।
‘यो संसदीय व्यवस्थाले चलेन । असल व्यक्तिले काम गर्न सक्थ्यो । राष्ट्रपति प्रणालीमै जाऊँ । त्यो प्रणालीमा गएको भए आज यो कलंक लाग्दैन थियो । त्यतिमात्रै होई राजा ज्ञानेन्द्रले लडेर पनि जित्न सक्छ,’- उनले भने ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीमा धेरै राम्रा कुराहरु उठाएको भएपनि केही सुधार हुन नसकेको बताए । यो देशमा अब युवाहरुलाई मौका दिनुको विकल्प नरहेको बताए । तर, युवाहरु निश्कलंक हुन आवश्यक रहेको बताए । उनले नैतिक बल सबैभन्दा महत्वपूणर् रहेको बताए ।

प्रचण्डले नेपाललाई स्वीजरल्याण्ड बनाउँछु भनेपनि त्यो तीन पटक प्रधानमन्त्री हुँदासमेत केही गर्न नसकेको उनको आरोप छ । प्रचण्डको विश्वास गर्न नसकिने उनले बताए ।