पशुपति प्रसाद २ भष्मे डन’को २ करोड ४० लाख ग्रस कलेक्सन

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

शनिबारबाट प्रदर्शनमा आएको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ले बक्सअफिसमा बम्पर व्यापार गरिरहेको छ । वितरक करण श्रेष्ठका अनुसार सिनेमाले पहिलो दिन शनिबार बक्सअफिसमा २ करोड ४० लाख ग्रस कलेक्सन गरेको हो ।

नेपालभरका ३०० बढि स्क्रिनमा रिलिज भएको सिनेमाले आज आइतबार पनि हलमा दर्शकको भिड देखिएको छ । हिजो शनिबार दर्शक साक्षात्कार गर्न कलाकारसहित निर्माण टिम हलमा पुग्दा दर्शको हुटिङ पाउनुका साथै कलाकारसँग सेल्फी खिच्न चाहने दर्शकको चाप निकै देखिएको थियो ।

सिनेमा हेरर हलबाट निस्किँदै गर्दा अधिकांश दर्शकले निर्माण टिमसँग ‘पशुपति प्रसाद ३’ को डिमाण्ड गरिरहेका थिए । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको बहुप्रतिक्षित सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ ।

सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिएका छन् । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, विपिन मल्लको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको सिनेमाका प्रोडक्सन डिजाइनर शंकर पाण्डे हुन् ।