दुर्गा प्रसाईंलाई धम्क्याउँदै २० करोड मागेको आरोपमा १ जना पक्राउ

हाम्रो सन्देश संवाददाता

२६ असार, काठमाडौं ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्क्याएर ३० करोड माग गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार महाराजगञ्जबाट रमेश गुरूङलाई पक्राउ गरेको एसपी सञ्जयसिंह थापाले जानकारी दिए । उनले केही दिनअघि प्रसाईंलाई फोन गरी ३० करोड रुपैयाँ चन्दा माग गरेका थिए । तर बार्गेनिङ गर्दा पाँच करोडसम्मको ‘डिल’ भइसकेको थियो ।

रकम नदिए ज्यान मार्ने धम्की समेत दिएको प्रसाईंको आरोप छ । यसरी पैसा माग गरेको भन्ने खबर पाएपछि केही दिनदेखि सिआइबीले उनको खोजी गरिरहेको थियो । त्यही क्रममा महाराजगञ्जमा उनी फेला परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार गुरुङको घर खोटाङ हो ।

प्रसाईसँग ३० करोड मागेका गुरुङ पाँच करोड रुपैयाँ लिन भन्दै महाराजगञ्ज पुगेका थिए । त्यति नै बेला सीआईबीले उनलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता संजय थापाले जानकारी दिए । प्रसाईंले ३० करोड चन्दा मागेका गुरुङलाई पाँच करोड दिने भन्दै बोलाएका थिए । तर उनले त्यसअघि नै प्रहरीलाई जानकारी दिइसकेका थिए । गुरुङलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।