बन्दसूचीबाट हटाइएकी टासी ल्हाजोम हुम्लाबाट रास्वपाकै उम्मेदवार

हाम्रो सन्देश संवाददाता

माघ ७ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बन्दसूचीबाट हटाइएकी टासी ल्हाजोम अन्ततः प्रत्यक्ष उम्मेदवार बनेकी छन् । रास्वपाले नै उनलाई हुम्लाबाट टिकट दिएको हो ।

टासी यसअघि रास्वपाको बन्दसूचीमा आदिवासी जनजाति महिलाको क्लस्टरमा पहिलो नम्बरमा थिइन् । यदि त्यसमा कायम रहेको भए उनी सांसद निर्वाचित हुने सम्भावना प्रबल थियो । तर, उनका विभिन्न विवादहरुले गर्दा रास्वपाले बन्दसूचीबाट हटाउने निर्णय लियो ।

पार्टीको सो निर्णयमा टासीले आपत्ति जनाएकी थिइन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै कानूनी उपचारमा जाने चेतावनीसमेत दिइन् । कानूनतः बन्दसूचीमा राखिएको कुनै पनि उम्मेदवार आफैँले निवेदन नदिइकन पार्टीले नाम हटाउन सक्दैन । त्यसैले कानूनी पाटोमा टासी बलियो थिइन् । त्यसमाथि उनी रास्वपाको प्राइमरी इलेक्सनमा समेत भाग लिएर आएकी हुन् ।

टासी फ्रि तिब्बत अभियानमा संलग्न रहेकोदेखि उनको नेपाली नागरिकता शंकास्पद रहेकोसम्मका आरोपहरु छन् । यसअघि उनलाई सुशीला कार्कीले मन्त्री बनाउन लाग्दा यिनै आरोपहरुले रोकिएकी थिइन् । रास्वपाले बन्दसूचीमा राखेपछि चिनीया पक्षबाट समेत चासो व्यक्त भएको दावी गरिएको छ ।

बन्दसूचीबाट नाम हटाइएपछि टासीले सभापति रवि लामिछानेलाई समेत भेटेर असन्तुष्टि व्यक्त गरेकी थिइन् । हुम्लाबाट रास्वपाका केही कार्यकर्ताहरु आएर पार्टी कार्यालयमा धर्नासमेत दिए । अन्ततः उनलाई हुम्लाकै टिकट मिलेको छ ।

रास्वपाका एक नेताले टासीको सन्दर्भमा नेतृत्वले बच्कना व्यवहार देखाएको टिप्पणी गरे ।उनले भने, ‘विवादित व्यक्ति भएकाले समानुपातिकबाट नाम हटाइयो, अनि प्रत्यक्षमा चाहिँ टिकट दिँदा चाहिँ उनी विवादित भइनन् ?’