एक दिनमै हाजिर जमानीमा छुटे दुर्गा प्रसाईँ

हाम्रो सन्देश संवाददाता

माघ ६ काठमाडौं । हिजोमात्रै पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटेका छन् । विभिन्न विषयमा अफवाह फैलाएको आरोपमा पक्राउ परेका प्रसाईँलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा छुटेका हुन् ।
उनको बयान लिइएको र हिरासत बाहिरै राख्न उपयुक्त हुने कारण आफन्तको जिम्मामा छोडिएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

पोखरा लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा उनी हिजो चाउथेबाट पक्राउ परेका थिए ।कांग्रेसको आधिकारिकता विवादमा पैसा खाएर निर्वाचन आयोगले निर्णय लिएको भन्दै उनले सार्वजनिक अभिव्यक्ति दिएपछि आइतबार आयोगले कारबाही प्रक्रियाको अनुरोधसहित साइबर ब्युरोमा पत्राचार गरेको थियो ।
प्रसाईँ पक्राउ परेसंगै देशभरबाट समर्थकले बिरोध जनाएका थिए । यतिमात्रै होइन समर्थकले तत्काल रिहा नगरे देशभर आन्दोलन चर्काउने र चुनाव बिथोल्ने चेतावनी समेत दिएका थिए । आन्दोलन हुँदा चुनाव विथोलिन सक्ने भन्दै सरकारले प्रसाईँलाई रिहा गरेको श्रोतको दाबी छ ।