दुर्गा प्रसाईँलाई कालाेमाेसाे दल्ने काे हुन् ?

हाम्रो सन्देश संवाददाता

२२ असोज, काठमाडौँ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दल्ने युवा संघका कार्यकर्ता रहेको खुलेको छ । सोमबार राजधानीको एल्लो प्यागोडामा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रसाईंमाथि युवा संघका कार्यकर्ताहरूको समूहले कालोमोसो दलेको हो । युवा संघका अध्यक्ष क्षितिज थेवेले प्रसाईलाई कालोमोसो दल्ने कार्यमा युवा संघको संलग्नता रहेको बताएका छन् । कालोमोसो दलेपछि एमालेको पक्षमा सो समूहले नाराबाजीसमेत गरेको थियो ।

अध्यक्ष थेवेले स्वतन्त्र युवाहरुले प्रसाईको भड्काउपूर्ण अभिव्यक्ति, संविधान र गणतन्त्रकै खिलापमा दिएको अभिव्यक्तिविरुद्ध कालोमोसो दलेको र त्यसमा युवा संघमा आवद्ध केही युवाहरु पनि रहेको उल्लेख गरेका छन् । राष्ट्रकै अहित हुने र समाजमा विग्रह ल्याउने कार्यमा संलग्न प्रसाई कालोमोसो दलेर युवाहरूले ठिक गरेको थेवेले बताए ।