रिगलको कैद मिनाहा विरुद्ध अनशन बस्छु: भारती मानन्धर

हाम्रो सन्देश संवाददाता

१६ असोज, काठमाडौँ ।

मानन्धर आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने रिगल भनिने योगराज ढकालको कैद मिनाहा विरुद्ध रिले अनशन बस्ने भएकी छन्।

रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो। उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो। तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए।

चेतनकी श्रीमती भारतीले राष्ट्रपतिको निर्णय विरुद्ध भोलि बुधबारदेखि माइतीघरमण्डलमा रिले अनशन सुरु गर्ने बताइन्। गहभरी आँसु लिएर मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेकी उनले भनिन्,जुन म पहिला पीडामा थिएँ, राष्ट्रपतिले फेरि दोहोर्याइदिनुभयो। पहिलाको दृश्य आँखामा झल्झली भइरहेको छ।

लामो कानुनी लडाईं लडेर रिगललाई कारागार पुर्याएको भन्दै उनले पीडित परिवारको सहमति विना आममाफी दिने अधिकार राष्ट्रपतिलाई दिन नहुने बताइन्।

यदि मेरो ठाउँमा उहाँ (राष्ट्रपति)को छोरी चेलीबेटी हुनुहुन्थ्यो भने उहाँले के गर्नुहुन्थ्यो? उनले प्रश्न गरिन्,यस्तो दिन देखाउनु हुन्थ्यो?