११ असोज, काठमाडौँ ।
आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबिच भोलि बार्ता हुने भएको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा असोज १२ गते ११ बजे मन्त्रालयमा वार्ता हुने मन्त्रालय स्रोतले जनाएको छ ।
राहत शिक्षकहरूका असहमतिहरूलाई वार्ताबाटै निकास निकाल्नु पर्ने भन्दै नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालय पटकपटक छलफलमा बसे पछि वार्ता गर्ने तयारी थालिएको स्रोतको भनाइ छ ।
मन्त्रालय स्रोतका अनुसार आज आन्दोलनरत पक्ष र महासङ्घसँग अनौपचारिक वार्ता गरेर करिब विषय वस्तु टुङ्गिएको र भोलि त्यसलाई औपचारिक रूपमा बसेर सहमति गर्ने तयारी भएको जनाएको छ । साथै अनौपचारिक छलफलपछि आज मन्त्रालयले वार्तामा आएर छलफल गर्न पत्र पठाएको जनाएको छ । स्रोतले भन्यो ‘आजको छलफलबाट निकास निस्किएको छ । उहाँहरूका छरिएर आएका मागहरू थिए । त्यसलाई भोलिबसेर सहमति गर्ने तयारी भएको छ । त्यसैले आज पत्रपनि पठाएका छौँ, सायद भोलि टुंगिन्छ ।
शिक्षा मन्त्रालयले नेपाल शिक्षक महासङ्घको नेतृत्वमा वार्तामा आउन आग्रह गरेपनि राहत शिक्षक लगायत आन्दोलनरत शिक्षकहरूले अस्वीकार गर्दै आएका थिए । नेपाल शिक्षक महासङ्घको असोज ५ गते सरकारसँग ६ बुँदे सम्झौता भएपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिले महासङ्घले धोका दिएको भन्दै सडक आन्दोलन गर्दै आएका छन् ।