७ असोज, काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सीसँगको वार्तापछि यसबारे चर्चा शुरु भएको छ । प्रचण्डले सीसँग के–के विषयमा कुरा गरे अनि चीनसँग के कस्ता सम्झौता सम्पन्न गर्ने तयारी भइरहेको छ त ? यसमा आमचासो बढेको छ ।
अमेरिका हुँदै सीधै चीन भ्रमणमा गएका प्रचण्डलाई चिनियाँ पक्षले उनी एसियन गेम्सका लागि चीन पुगेको समाचारहरु सार्वजनिक गरेका छन् । चिनियाँका लागि प्रचण्ड एसियन गेम्समा उपस्थित हुनेकुरा मात्रै प्राथमिकतामा परेपनि नेपालका लागि प्रचण्ड थुप्रै सपना बोकेर चीन पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणलाई कसरी सफल पार्न सकिन्छ भन्दै सर्वदलीयदेखि कुटनीतिक क्षेत्रका विज्ञहरुसँग समेत छलफल परामर्श गरेका थिए । तर, चिनियाँ पक्षले नयाँ सहमति र सहमति कार्यान्वयनमा कति चासो दियो भन्ने विषय प्रमुख बन्न पुगेको छ ।
हुनत, चिनियाँ राष्ट्रपति सी जिन पिङले नेपालको विकासमा साझेदार बन्न तयार रहेको भन्दै दुई देशको सम्बन्ध उच्च स्थानमा रहेको बताएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । यसैगरि, प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले चीनको विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई सुदृढ साथ र समर्थन रहेको जानकारी गराएका थिए । तर, बीराआईबारे उल्लेख्य प्रगति नभएको नेपाली पक्षले बताइएको छ ।
चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ताबारे चिनियाँ विदेशमन्त्रालयले नेपाल–चीन भूगोलमा साना–ठूला भए पनि समानता र पारस्परिक लाभमा आधारित सहयोगको राम्रो उदाहरण स्थापित गर्न सफल भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबवनले भेटमा भएका अन्य विषयबारे खास खुलाएका छैनन् ।
चीन भ्रमणको क्रममा विद्युत व्यापार सम्झौता, पुर्वाधार विकास साझेदारी, विमानस्थल सञ्चालन तथा ऋण मिनाह, सीमा नाका खोल्ने लगायतका विषय प्राथमिकतामा राखेर नेपालले तयारी गरेपनि यसबारे ठोस सहमति भए/नभएबारे कुनै तथ्य बाहिरिएको छैन् । प्रचण्डले वेइजिङमा चिनियाँ प्रधानमन्त्री, स्थायी समितिका अध्यक्ष लगायत शीर्ष तहमा भेटघाट गर्ने कार्यक्रम बाँकी नै रहेकाले थप केहि प्रगति हुनसक्नेमा भने अपेक्षा गरिएको छ ।
बीआरआईबारे कुनै प्रगति नभएपनि यसबारे आइतबार साँझसम्म थप केहि प्रगति हुन्छ कि भन्ने अपेक्षामा नेपाली पक्ष देखिन्छ । सीसँगको महत्वपूर्ण भेटवार्ता सकिएपछि प्रचण्डको चीन भ्रमणमा थप उपलब्धिमूलक होला भन्ने प्रश्न भने उव्जिएको छ । तर, चिनियाँ राष्ट्रपति सीले ट्रान्स हिमालयन थ्री डाइमेन्सनल इन्टरकनेक्सन नेटवर्कले आकार लिन थालेको भन्दै दुई मुलुकले पूर्वाधार कनेक्टिभिटीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको बताइएको छ । पूर्वाधार कनेक्टिभिटी प्रवर्द्धन, यातायात सहकार्य विस्तारका साथै नेपाललाई सकेसम्म चाँडो भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बनाउन ध्यान केन्द्रित गर्नुपर्नेमा सीको जोड रहेको थियो । चिनियाँ उद्यमहरुलाई नेपालमा लगानी तथा व्यवसाय सुरु गर्न तथा नेपाली उत्पादनहरु चीनमा निर्यात गर्न प्रेरित गर्ने गरि काम गर्नुपर्नेमा सीले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
यता, प्रधानमन्त्री प्रचण्डले पनि एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको र ताइवान र तिब्बत चीनको अभिन्न हिस्सा भएकोमा नेपाल सचेत रहेको बताएका छन् । सी–प्रचण्ड एकअर्काको हितलाई समर्थन गर्नुर्नेमा समेत प्रतिबद्धता व्यक्त गरेको बताइएको छ । यि सबै पक्ष सकारात्मक नै देखिएपनि ठोस उपलब्धि भने प्रचण्ड र सीबीचको शनिबारको भेटले दिएको छैन । त्यसैले यो भ्रमणलाई उपलब्धिमुलक बनाउन थप रणनीतिक कदम चाल्नु पर्ने आवश्यकता देखिन्छ ।