बजाजको पहिलो इलेक्ट्रीक स्कुटर नाडा अटो शोमा देख्न पाइने

हाम्रो सन्देश संवाददाता

७ भदौ, काठमाडौँ।

बजाजको पहिलो इलेक्ट्रीक स्कुटर भदौमा हुने नाडा अटो शोमा देख्न पाइने भएको छ । कम्पनीले बजाज चेतक नेपालमा सार्वजनिक गर्ने तयारी थालेसँगै अटो शोमा देख्न पाइने भएको हो ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले नाडा अटो शोमा चेतक स्कुटर सार्वजनिक गर्ने भएको हो ।

नेपालमा अहिले दर्जनौं ब्राण्डका इलेक्ट्रीक स्कुटर धमाधम भित्रिरहेका छन् भने मोटरसाइकल बिक्री गर्ने प्रमुख कम्पनी बजाजले समेत इलेक्ट्रीक स्कुटर नेपालमा सार्वजनिक गर्ने तयारी थालेको हो । यसअघि टीभीएसले नेपालमा आइक्यूबको बिक्री सुरू गरेको छ ।

चेतक स्कुटर नेपाल ल्याएर परीक्षण भइसकेको छ । नाडा अटो शोमा स्कुटर सार्वजनिक गर्ने आन्तरिक तयारीको काम भइरहेको कम्पनी स्रोतले मेरोअटोलाई जानकारी दिएको छ ।

बजाज चेतकले टीभीएस आइक्यूबसँग प्रतिस्पर्धा गर्नेछ । बजाज चेतमा ५०।४ भोल्ट ५७.२४ एम्पियर आवरको लिथियम आयोन ब्याट्री पाउन सकिन्छ । कम्पनीले चेतकमा ४।२ किलोवाट पीक पावर भएको मोटर दिएको छ । कम्पनीका अनुसार चेतकले सिंगल चार्जमा १०८ किलोमिटरसम्म रेन्ज दिन्छ ।