नक्कली भुटानी शरणार्थी प्रकरण : आरजुको नाम लिएको अडियो सन्देश शर्माको स्वरसँग मिल्यो

हाम्रो सन्देश संवाददाता

२४ असार, काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेता तथा सांसद आरजु राणाको नाम जोडेर करौडौं रुपैयाँ बराबर रकमको डिल भएको जनाउने अडियो सन्देश शर्माको भएको पुष्टि भएको छ।

प्रहरी प्रधान कार्यालयले उक्त अडियो नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका दाङको तुलसीपुर घर भएका सन्देश शर्माको भएको जनाएको छ। अडियो परीक्षण गर्दा शर्माको स्वरसँग ‘स्पिकर आइडेन्टिफिकेस ट्रेट्स म्याच’ भएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायले जनाएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पहिलो चरणको प्रहरी अनुसन्धान चलिरहँदा आरजुको नाम समेत लिएर रकम डिल भएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजुले अडियोको विषयमा छानबिनका लागि भन्दै प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन्।

उक्त अडिओ कहाँ र कसबाट ‘ओरिजिनेटेड’ भयो भन्ने सम्बन्धमा भने टिकटक सिंगापुरलाई पत्राचार गरिएकोमा अहिलेसम्म जवाफ नआएको डीआईजी कडायतले उल्लेख गरेका छन्।

अडियोमा आवाज रहेका शर्मा हाल नक्कली शरणार्थी प्रकरणको मुद्दाको पुर्पक्षका लागि थुनामा छन्। प्रहरी सँगको बयानका क्रममा पनि शर्माले उक्त अडियो आफ्नो भएको स्वीकार गरेका थिए।

नक्कली भुटानी शरणार्थीको रुपमा अमेरिका जान भनेर रकम बुझाएका व्यक्ति (पीडितहरु)सँग कुराकानीका क्रममा शर्माले आरजुलाई समेत करोडौं रुपैयाँ बुझाइएकाले काम हुने भन्दै आश्वासन दिएको सुनिन्छ।