सिनेमा हलहरुमा दर्शकको खडेरी: फिल्ममा दम नपुगेर कि मन्दीको असर ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं।

मल्टिप्लेक्स चेन क्युएफएक्समा सोमबार साँझको सिट अकुपेन्सी हेर्ने हो भने दर्शकको संख्या निराशाजनक छ। नेपाली फिल्म ‘अन्तिम संस्कार’को रातिको शो नै छैन।

साँझका शो रित्तै छन्। हलिउड फिल्म ‘द फ्ल्यास,’ ‘इलिमेन्टल,’ ‘ट्रान्सफर्मर्स्,’ हिन्दी फिल्म ‘जरा हट्के जरा बच्के’ लगायतको अकुपेन्सी पनि दयालाग्दो छ।

क्युएफएक्सकी बजार प्रमुख तृप्ति गिरी रातिका शोमा दर्शक नभएको बताउँछिन्। ‘हामीले कुनै फिल्मको डिमान्ड बढ्दा रातिका शो राख्छौं। तर, अहिले पहिलेजस्तो रातिका शोमा दर्शक हुनुहुन्न,’ उनले भनिन्।

सीडीसी सिनेमाजको हालत उस्तै छ। सीडीसीका हल व्यवस्थापक जीवन शाक्यले दर्शक नहुँदा साँझका शो नराखेको बताए। ‘अहिले हलमा ५/७ प्रतिशत मात्रै दर्शक आइपुग्छन्। दर्शक नआएपछि हामीले साँझ ६ बजेपछिका शो राख्‍न नै छोडिसक्यौं। बुकिङ पनि क्यान्सिल भइरहेका छन्,’ उनले भने।

पछिल्लो ट्रेन्ड यस्तो

वैशाख १ गतेबाट नेपाली सिनेमा हलमा ‘जारी’ सँगै ‘बुलाकी’ र ‘बिहे पास’ प्रदर्शनमा आएका थिए। दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनीत ‘बिहे पास’ ले कमजोर व्यापार गर्दा सुरक्षा पन्तको ‘बुलाकी’ निर्माण टिमले शो नपाएको भन्दै तीन दिनमै उतारे। तर, दयाहाङ र मिरुना मगरको मुख्य भूमिका रहेको ‘जारी’ भने ११औँ हप्तामा प्रदर्शनरत छ।

‘जारी’ ले उत्साहजनक दर्शक पाउँदा अन्य नेपाली फिल्मले भने व्यापार न्यून छ। ‘जारी’पछि ‘प्रसाद २,’ ‘नाईं नभन्नु ल ६,’ ‘कैदीको पत्र,’ ‘ज्याकी: आइ एम ट्वान्टी वान,’ ‘हल्कारा,’ ‘ए साथी सुन,’ ‘हुक्का,’ ‘वेलकम टु हेम्जाकोट,’ ‘नीरफूल,’ ‘डाकिनी’ र ‘अन्तिम संस्कार’ रिलिज भए। तर, ‘जारी’बाहेकका फिल्मले लगानीसमेत उठाउन नसकेको हल सञ्चालक बताउँछन्।

हलिउड र बलिउडका फिल्महरुको नेपाली दर्शक धेरै छन्। जसले गर्दा वितरक महंगो रकम तिरेर फिल्म नेपाल भित्र्याउन तयार हुन्छन्। तर, बहुप्रतिक्षीत हलिउड र बलिउड फिल्ममा पनि दर्शकको संख्या न्यून नै छ।

वैशाखदेखि प्रदर्शन भएका हलिउड फिल्म ‘फास्ट एक्स,’‘इभिल डेथ राइज,’ ‘स्पाइडर-म्यान: एक्रस द स्पाइडर भर्स,’ ‘दी फ्ल्यास,’ ‘इलिमेन्टल,’ ‘टर्मिनेटर,’ ‘द लिटिल मेरमिड’ले पनि दर्शक तान्न सकिरहेका छैनन्। त्यस्तै, सलमान खानको ‘किसी का भाइ किसी का जान’ ले पनि बक्स अफिसमा कमाल गर्न सकेन। उल्टै यो फिल्म ‘जारी’को चेपुवामा पर्‍यो। सन् २०२३ कै बहुप्रतिक्षीत भनिएको प्रभास स्टारर ‘आदिपुरुष’ त विवादले नै सकियो।

अहिले सिनेमा हलमा गत शुक्रबारदेखि रिलिज भएको ‘अन्तिम संस्कार’सहित ‘जारी,’ ‘नीरफूल,’ ‘जरा हटके जरा बच्के,’ ‘स्पाइडर-म्यान: एक्रस द स्पाइडर भर्स,’ ‘दी फ्लास,’ ‘इलिमेन्टल,’ ‘ट्रान्सफर्मर्स,’ ‘द लिटिल मेरमिड’लगायतका शो देखिन्छन्। ‘अन्मित संस्कार’ को हल अकुपेन्सी हेर्ने हो भने नामअनुसार नै प्रदर्शनको क्रमबाट छिटै बिदा लिने देखिन्छ।

किन घटे दर्शक?

कोरोना महामारी कम भएसँगै नेपाली सिनेमाहल चलायमान भएको थियो। गत वर्ष वैशाखदेखि जेठसम्म रिलिज भएका ‘ए मेरो हजुर ४,’ ‘केजीएफ २,’ ‘कबड्डी ४’ लगायतका फिल्मले राम्रै कमाइ गरेका थिए। तर, यो वर्ष भने ‘जारी’ पछिका कुनै पनि फिल्मको व्यापार सन्तोषजनक हुन नसकेको सीडीसी सिनेमाजका हल व्यवस्थापक जीवन शाक्य बताउँछन्।

‘जारीपछिका कुनै पनि फिल्ममा दर्शक छैनन्। नेपालीमात्रै होइन विदेशी फिल्मको अवस्था पनि त्यस्तै छ। पहिलेजस्तो फिल्म हेरौं न भन्ने दर्शकहरुमा माहोल नै देखिँदैन,’ उनले भने।

हलसम्म दर्शक नआउनुको कारण फिल्मलाई नै दिन्छन् शाक्य। राम्रो कन्टेन्ट नहुनुका साथै आर्थिक मन्दीको प्रभाव हलमा पनि देखिन थालेको उनको तर्क छ।

त्यसैगरी बिग मुभिजका सञ्चालक दीपेश शर्माले पनि ‘जारी’ पछिका सबै फिल्ममा दर्शकको संख्या न्यून रहेको बताए। आर्थिक मन्दी र पछिल्लो फिल्म ‘आदिपुरुष’को विवादले पनि दर्शक घटेको उनको भनाइ छ।

‘राम्रो कन्टेन्टको फिल्म नहुँदा दर्शक घटेका हुन्। जारी पछिका नेपाली फिल्महरुमा कन्टेन्ट नै छैन। अनि कहाँबाट दर्शक आउनु ?,’ उनी भन्छन्, ‘फ्याल्स र स्पाइडरम्यानले ठिकै गरे पनि अन्य विदेशी फिल्ममा भने दर्शक नै छैनन्। समयभन्दा पनि फिल्म चल्नलाई कन्टेन्ट राम्रो हुनुपर्छ।’

पुराना वितरक सुनील मानन्धरले यो वर्ष ‘वेलकम टु हेम्जाकोट’ वितरणको जिम्मा लिएका थिए। ‘नीरफूल’सँगै रिलिज भएको उक्त फिल्मको पनि व्यापार नाजुक नै रह्यो। आर्थिक मन्दीका कारण हलमा दर्शकको संख्या घटिरहेको मानन्धरको तर्क छ।

‘हप्तामा तीन/चारवटा फिल्म रिलिज हुन्छन्। त्यसमा पनि दर्शकले छनोट गरेर हेर्छन्। आर्थिक मन्दीले सबैतिर गाह्रो बनाएको छ। जसले गर्दा अहिले दर्शकहरुलाई फिल्म हेर्ने चासो नै छैन,’ उनले भने।

नयाँ फिल्म रिलिज नहुँदा दर्शकहरुको संख्या घटेको सुनाउँछिन् क्युएफएक्सकी बजार प्रमुख तृप्ति गिरी। ‘अहिले खासै नयाँ फिल्म नै रिलिज भएका छैनन्। तीन हप्तादेखिकै हिन्दी फिल्म हलमा छन्। जसकारण हलमा दर्शक छैनन्,’ उनले भनिन्।

निर्देशक नवीन सुब्बा दर्शक नआउनुमा दुइटा कारण देख्छन् – एउटा राम्रो फिल्म नआउनु, अर्को आर्थिक मन्दीको प्रभाव।

‘जारी’पछिका फिल्महरुमा कन्टेन्ट नहुँदा दर्शक घटिरहेको उनी बताउँछन्। ‘जारीपछिका रिलिज भएका फिल्म खासै राम्रा भएनन्। जसले गर्दा दर्शक हलसम्म तान्न सकेनन्। जारीको बेला सामाजिक सञ्जालमा पनि राम्रो ‘हाइप’ थियो। तर, पछिल्लो समय नेपाली र विदेशी फिल्महरुको खासै हाइप देखिँदैन। त्यस्तै अहिले आर्थिक मन्दीले पैसा नै छैन। जसकारण उनीहरु फिल्म हेर्न जान उत्साहित नदेखिएका हुन्,’ उनले भने।

असार १५ गतेबाट शिल्पा मास्केको मुख्य भूमिका रहेको ‘परस्त्री’ प्रदर्शन हुँदैछ। असार २९ गते ‘बगान’ र ‘बद्रीबहादुर’ को रिलिज डेट तोकिएको छ। साउन भदौबाट राम्रा नेपाली फिल्महरुको सेड्युल हुँदा चलहपहल बढ्नेमा आशावादी छन् सुनिन्छन् हल व्यवसायी। भदौ १४ गते ‘ऐंचोपैंचो,’ २१ गते शाहरुख खान अभिनीत ‘जवान,’ २९ गतेबाट ‘भगवत गीता’ र ‘नाङ्गो गाउँ’ लगायतका फिल्महरु प्रदर्शन हुने तय भएको छ।

नयाँ फिल्मले हलहरुमा लागेको दर्शकको खडेरीमा आँत भिजाउँछ वा फुस्स पारेर जान्छ त्यो हेर्न भने कुर्नैपर्ने हुन्छ।