समाजवादी मोर्चा नेपालविरुद्ध मुद्धा लिएर युवराज सफल सर्वोच्च (भिडियो सहित)

हाम्रो सन्देश संवाददाता

४ असार, काठमाडौं ।

सोमबार घोषणा भएको समाजवादी मोर्चा नेपालविरुद्ध युवराज सफल सर्वोच्च जाने भएका छन्। आफूहरुको मोर्चाको जस्तै नाम बनाएर भ्रम सिर्जना गर्न खोजिएको भन्दै उनले सर्वोच्चमा जाने तयारीमा जुटेको जानकारी दिए।

‘नेपाल समाजवादी मोर्चालाई उल्टोपाल्टो पारेर नयाँ मोर्चा बनाउन उपयुक्त होइन। नाम दायाँबायाँ गरेर उल्टोपाल्टो पारेर हुँदैन। जुन पनि नाम हुन सक्छ। त्यही नाम किन राख्न परो? यसले भ्रम सिर्जना गरेको छ’ उनले भने, ‘यसका विरुद्धमा म सर्वोच्च जाने तयारी गरिरहेको छु। म अहिले अध्ययन र परामर्शमा छु।’

एमसीसी पास गर्ने, नागरिकता विधेयक पास गर्ने, ढुंगागिटी बालुवा तस्करी गर्ने माफियाहरूले समाजवादी हुँ भन्दै हिँड्न नसुहाउने उनको भनाइ छ। ‘खाली सत्ता टिकाउनकै लागि बनाइएको यो मोर्चाको नैतिक धरातल छैन,’ उनले भने। यसले भ्रम सिर्जना गर्न खोजेको उनको आरोप छ।

गत फागुन २० गते आफूहरुले नेपाल समाजवादी मोर्चा बनाएको र आफूहरूकै मोर्चा आधिकारिक भएको उनको दाबी छ।

सोमबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा एस, जसपा र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच मोर्चाबन्दी भएको घोषणा गरिएको छ।