२९ जेठ, काठमाडौं ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले २०२२ सालदेखि प्रत्येक वर्ष असार ९ गते आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गर्ने राष्ट्रिय कविता महोत्सवका लागि यसपटक आठ सय ९२ कविता प्राप्त भएको छ ।
प्रतियोगितामा इमेलबाट आठ सय ४८ र ४४ वटा कविता दर्ता भएका छन् । यसले राष्ट्रिय कविता महोत्सवको नयाँ स्वरूपप्रति कविहरूको आकर्षण बढेको देखिएको कुलपति भुपाल राईले जानकारी दिनुभयो ।
यस पटकदेखि प्राप्त कवितामध्ये उत्कृष्ट १० को छनोट हुनेछ । यसरी छनोटमा परेका उत्कृष्ट १० कविताका कविलाई जनही रु १५ हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ । यस पटकबाट समावेशी सहभागितमूलक सिद्धान्तका आधारमा राष्ट्रिय कविता महोत्सवका लागि कविता आह्वान गरिनुले कविहरूको आकर्षण बढेको जनाइएको छ ।
प्रज्ञा–प्रतिष्ठानको इतिहासमै पहिलोपटक राष्ट्रिय कविता महोत्सवको परम्परागत ढाँचालाई बदलेर समावेशी र सहभागितामूलक बनाएका छौँ । महोत्सवमा सबै नेपाली भाषा÷मातृभाषाका कविताहरूलाई आह्वान गरिएकाले यसपटक विगतभन्दा बढी कविले भाग लिएका छन्”, कुलपति राईले भन्नुभयो, “यसपटकको राष्ट्रिय कविता महोत्सव साँच्चिकै राष्ट्रिय र साँच्चिकै महोत्सवका रूपमा सम्पन्न हुन गइरहेको छ । हाम्रो राष्ट्रिय कविता महोत्सवको यस समावेशी ढाँचालाई बहुसङ्ख्यक कविले आत्मसात् गरेर अनुमोदन गरेको कुरा यसले पुष्टि गर्दछ ।
यसैगरी, प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्यविभाग प्रमुख बाबा बस्नेतले राष्ट्रिय कविता महोत्सव समावेशिताको नयाँ रूप र स्वरूपअनुसार हुन गएकाले पनि कविहरूको आकर्षण बढेको बताउनुभयो ।