ओडिशामा बिभत्स रेल दुर्घटनामा २८० बढीको मृत्यु

हाम्रो सन्देश संवाददाता

२० जेठ, काठमाडौं ।

भारतको ओडिशाको बालासोर जिल्लामा शुक्रबार साँझ भएको बिभत्स रेल दुर्घटनामा अहिलेसम्म २८० भन्दा बढीको निधन भएको छ ।

उक्त दुर्घटनामा नौ सयभन्दा बढी घाइते भएको बताइएको छ । कोरोमण्डल एक्सप्रेसको रेल लिकबाट खसेको थियो । त्यसपछि यो अर्को लाइनमा विपरीत लाइनबाट आउँदै गरेको अर्को रेलसँग ठोक्किएको थियो ।

ओडिशा रेल दुर्घटनाको छानबिन गर्न आदेश दिइएको छ। दक्षिण पूर्वी क्षेत्रका रेलवे सुरक्षा आयुक्त ९सीआरएस० एएम चौधरीले यो ठूलो रेल दुर्घटनाको अनुसन्धान गर्ने जनाएका छन् ।

ओडिशाका मुख्य सचिवका अनुसार हालसम्म २ सय ३३ जनाको मृत्यु भएको प्रमाणित भएको छ । सोही क्रममा रेल दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि गोपालपुर, कान्तपाडा, बालासोर, भद्रक र सोरोका अस्पतालमा भर्ना गरिएको छ । जानकारी अनुसार राहत तथा उद्धार कार्य जारी रहेको छ ।

लिकबाट खसेका डिब्बामा कैयौं यात्रु फसेका थिए भने स्थानीयले आकस्मिक सेवाका कर्मचारीलाई उद्धार गर्न सहयोग गरिरहेका थिए तर अन्धकारले काममा बाधा पुगेको थियो ।

यो दुर्घटनाका कारण यो रुटबाट गुज्रिरहेका करिब ९२ अन्य रेलहरू प्रभावित भएका छन् । यसका कारण ४३ रेलहरु रद्द गरिएको छ । एकै समयमा ३८ रेलहरुको रूट डाइभर्सन गरिएको छ । जबकि नौ वटा रेलहरु बन्द गरिएका छन । एउटा रेनको समय तालिका परिवर्तन गरिएको थियो।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट आफू दुःखी भएको बताउँदै रेलमन्त्री अश्विनी वैष्णवसँग पछिल्लो अवस्थाको बारेमा जानकारी लिएका छन् ।

रेल मन्त्री अश्विनी वैष्णवले ओडिशामा भएको रेल दुर्घटनामा क्षतिपूर्ति दिने घोषणा गरेका छन् । वैष्णवले ट्वीट गर्दै भनेका छन्– ‘ओडिशामा भएको यो दुर्भाग्यपूर्ण रेल दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिको परिवारलाई १० लाख रुपैयाँ, गम्भीर घाइतेलाई २ लाख रुपैयाँ र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिईने छ ।’

प्रधानमन्त्री मोदीले मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५०–५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले रेल दुर्घटनापछि राज्य दिवस मनाउने कार्यक्रम रद्द गर्दै एक दिने राजकीय शोकको घोषणा गरेका छन् । रेल दुर्घटनापछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी आज ओडिशाको भ्रमण गर्न लागेकी छिन् ।

शनिबार बिहानको लागि तय गरिएको मुम्बई–गोवा बन्दे भारत एक्सप्रेसको उद्घाटन समारोह ओडिशामा रेल दुर्घटनाका कारण रद्द गरिएको छ । प्रधानमन्त्री मोदीले यो रेललाई झण्डा हल्लाएर उदघाटन गर्ने कार्यक्रम थियो । कार्यक्रम आज बिहान साढे १० बजेका लागि तय भएको थियो ।