उद्यमी बन्न चाहनेलाई आईडिया बैंकमा आवेदन दिन मेयर बालेनको आह्वान

हाम्रो सन्देश संवाददाता

६ जेठ, काठमाडौं ।

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आईडिया बैंकमा आवेदन दिनका लागि आह्वान गरेका छन् ।

काठमाडौँ महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रममा सहभागी हुनका लागि मेयर शाहले महानगरवासीलाई आह्वान गरेका हुन् ।

मेयर बालेनले सामाजिक सञ्जालमा भिडियोमार्फत अपिल जारी गर्दै उद्यमी बन्न कसैले रोक्न सक्दैन भन्दै उद्यमी बन्न इछुकलाई महानगरले साथ दिने बताए । आइडिया बैङ्क कार्यक्रममार्फत दक्ष र अदक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबसी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने उद्धेश्य लिएको मेयर शाहले जानकारी दिए ।

‘मेरो चुनावी घोषणापत्र तथा काठमाडौ महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रमको प्रमुख उद्देश्य दक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो,’ उनले भनेका छन् ।

‘तपाइसँग आइडिया छ, तपाईँ महानगर भित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र ३ वर्ष कटेको छैन, साथै तपाइ विद्यार्थी हुनुहुन्छ भने आईडिया बैंकमा आबेदन दिनुहोस, उद्यमी बन्नुहोस्’ उनले भनेका छन् । विभिन्न विषयगत क्षेत्रहरूलाई समेटी ५ वटा क्याटगोरीमा आवेदन माग गरिएको छ । आबेदन २०८० जेठ १९ गते भित्र निवेदन दिइसक्ने पर्नेछ ।