शरणार्थी प्रकरणमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

हाम्रो सन्देश संवाददाता

२२ वैशाख, काठमाडौं ।

भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । घटनामा संलग्न आरोपमा उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे सहित ८ जना प्रहरीको हिरासतमा छन् ।

पछिल्लो समय केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । हरिभक्त महर्जन न्यूरोडको ताम्राकार कम्प्लेक्स स्थित दिया सहकारीको सञ्चालक समिति सदस्य हुन् ।

हरिभक्त र लक्ष्मीको नामको बैंक खातामा ५५ लाख नगद डिपोजिट भएको अनुसन्धानबाट थाहा भएको छ । वैशाख २० मा सचिव टेकनारायण पाण्डे र वैशाख १९ मा पूर्व गृहमन्त्री ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परेका हुन् । आरोपीहरू विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले सङ्गठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।