२२ वैशाख, संखुवासभा ।
सिम्रिक एयरको हेलिकोप्टर संखुवासभाको भोटखोलास्थित बारीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । आज दिउँसो करिब १ः१० बजे सिम्रिक एयरको हेलिकोप्टर भोटखोला–२ सिप्रङ भन्ने ठाउँमा दुर्घटनामा परेको स्थानीय डुक्पा भोटेले जानकारी दिए ।
उनले वारी डाँडाबाट सिप्रङमा हेलिकोप्टर दुर्घटना भएको देखेको बताए । भोटखोलामा १०६१ मेगावाटको अपर अरुणको सामान ढुवानी गर्ने क्रममा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । घटनाबारे जानकारी आए पनि पुष्टि हुन बाँकी रहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।
दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला–४ सिप्रुङको जिजिङ्खास्थित बारीको पाटामा क्षतविक्षत अवस्थामा भेटिएको हो । दुर्घटनापछि हेलिकोप्टर क्षतविक्षत भएको छ । त्यहाँ रहेका चालकको अवस्था खुलेको छैन । तर त्यहाँ नेपाली सेना र स्थानीयहरु पुगिसकेका छन् ।