२१ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउन गरेको प्रयास सफल नहुने देखिएको छ ।
प्रधानमन्त्री दाहालले रास्वपालाई साविकै मन्त्रालय दिएर सरकारमा ल्याउने प्रयास गरेका थिए । उपचुनावपछि रास्वपालाई गृहसहित उपप्रधानमन्त्री र अन्य दुई मन्त्रालय दिन सत्ता गठबन्धनमा सहभागी जसपाबाहेक सबै दल सहमत छन् ।
तर, रास्वपाभित्र सरकारमा जान नहुने मत बलियो बन्दै गएकाले शुक्रबार बस्ने केन्द्रीय समितिले सबारे औपचारिक निर्णय लिने भएको छ । सो पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने स्रोतले बताएको छ ।
रास्वपाले समर्थन फिर्ता लिए पनि दाहाल नेतृत्वको सरकार भने अल्पमतमा पर्ने छैन। रास्वपाले समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्री दाहालले तेस्रो पटक प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्नेछ।
प्रधानमन्त्री दाहाल एमाले, रास्वपा, राप्रपासहितको समर्थनमा पुस १० गते नियुक्त भएका थिए । माघ १३ गते सर्वोच्चले रास्वपा अध्यक्ष रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद खारेज गरिदिएको थियो ।
सर्वोच्चको आदेशपछि रविको सांसद पद मात्र गएन उनको गृहमन्त्री पद पनि गएपछि उनी निर्वाचित चितवन २ मा पुनःनिर्वाचन गर्नुपरेको थियो ।
वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा पुननिर्वाचित भएर रवि संसद प्रवेश गरिसकेका छन् । व्यक्तिगत रुपमा लामिछाने सरकारमा जान तयार भए पनि पार्टीभित्र र शुभेच्छुकको दबाबका कारण रास्वपा सरकारमा जाने सम्भावना न्यून बनेको हो ।