झापामा गम्भीर अवस्थाका क्षयरोगका बिरामीको सङ्ख्या बढ्दै !

हाम्रो सन्देश संवाददाता

१० चैत, काठमाडौं ।

झापामा गम्भीर प्रकारका क्षयरोगीको सङ्ख्या बढ्दै गएको छ ।

चालु आर्थिक वर्ष २०७९-८० को फागुनसम्ममा १७ जना गम्भीर प्रकारका क्षयरोगी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोत व्यक्ति वीरेन्द्र दासले जानकारी दिनुभयो । “गत वर्ष नौ जना गम्भीर अवस्थाका क्षयरोगी फेला परेका थिए”, उहाँले भन्नुभयो, “हाल उक्त सङ्ख्या दोब्बरले बढेको छ ।

झापामा चालु आवको फागुनसम्ममा पाँच सय ८४ नयाँ क्षयरोगी फेला परेका छन् । त्यसमा एक सय ९३ महिला र तीन सय ९१ पुरुष छन् । एघार महिला र ४० पुरुषमा क्षयरोग पुनः दोहोरिएको दासले बताउनुभयो । गत वर्ष जिल्लामा एक हजार एक सय ८६ नयाँ क्षयरोगी फेला परेका थिए ।

जिल्लामा ‘ड्रग रेसिसन्टेन’ (औषधिले काम नगर्ने) रोगीको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले बताउनुभयो । “गम्भीर प्रकारका रोगीको सङ्ख्या बढिरहेको छ”, उहाँले भन्नुभयो, “रोगीको खोजीकार्य पनि बढाउनुपर्ने देखिन्छ ।

फेला परेका रोगीको सङ्ख्याका आधारमा औषधि आउने भएकाले पनि केही समस्या भएको उहाँको भनाइ छ । “औषधि ठिक्क पुग्ने गरी आउँछ”, उहाँले भन्नुभयो, “पहिला केही बढी आउँथ्यो, कोही नयाँ थपिँदा पनि औषधि वितरणमा सहज थियो ।

प्रादेशिक अस्पताल भद्रपुरमा गम्भीर प्रकारका क्षयरोगीको समेत उपचार हुने गरी डिआर सेन्टर सञ्चालनमा आउने भएको छ । यसअघि त्यस्ता रोगीले विराटनगर जानुपर्ने बाध्यता थियो । प्रादेशिक अस्पतालमा डिआर सेन्टर सञ्चालनमा आउने भएपछि त्यस्तो बाध्यता हट्ने भएको हो । सेन्टर सञ्चालनका लागि स्वास्थ्य निर्देशनालयबाट प्राप्त आवश्यक उपकरण आजै हस्तान्तरण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

उता क्षयरोग दिवसका अवसमा आज स्वास्थ्य कार्यालयले क्षयरोगीलाई अन्डा र चना वितरणसमेत गरेको छ । ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नाराका साथ आज झापामा विविध कार्यक्रमका साथ विश्व क्षयरोग दिवस मनाइँदैछ ।