७ चैत, काठमाडौं ।
कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा गए राति से१च ८८७० नंको ट्रलीसहितको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी अन्य २६ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते भएका भजनी नगरपालिका–९ का अन्दाजी १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।
अन्य घाइतेको घोडाघाडी अस्पताल र बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ । कैलालीको सुगरखालबाट भजनीतर्फ गइरहेको उक्त ट्र्याक्टर गुडिरहेकै अवस्थामा अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको जनाइएको छ । चालक भजनीका सुरज चौधरीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
बाबा साहित्य साधक सम्मान श्रेष्ठ र अधिकारीलाई
बाबा साहित्य साधक सम्मान २०७८ र २०७९ क्रमशः तनहुँका साहित्यिक अभियन्ता आनन्दसुन्दर श्रेष्ठ र कास्कीका कवयत्री लिली अधिकारीलाई अर्पण गरिने भएको छ ।
कवि तथा गीतकार दुर्गाबहादुर शाह ‘बाबा’लाई प्राप्त पुरस्कार र विसं २०६७ मा एकल कविता वाचन कार्यक्रममा सङ्कलित रकमबाट सो सम्मान प्रदान गरिँदै आइएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य सहप्राध्यापक कृष्णप्रसाद पौडेलको संयोजकत्वमा लोककिन्नरी हरिदेवी कोइराला र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टी कार्यसमिति सदस्य ऋषि बराल सदस्य रहनुभएकोे प्रतिभा छनोट समितिको सिफारिसलाई सङ्घर्षमा कलमका अध्यक्ष कृष्ण सारथीको अध्यक्षतामा सम्पन्न बैठकले पुरस्कृतको नाम छनौट गरेको हो ।
श्रेष्ठ शुक्ला साहित्य सङ्गम तनहुँका पूर्वअध्यक्ष हुनुहुन्छ । उहाँको ‘उद्वेलित मनहरू’ गजल सङ्ग्रह कृति प्रकाशित छ । पोखरा–२४ का अधिकारीको ‘पहराको फूल’ कविता सङ्ग्रह प्रकाशित छ ।
गण्डकी प्रदेशभित्रका स्रष्टालाई अर्पण गरिँदै आएको बाबा साहित्य साधक सम्मानबाट लमजुङका रुपिन्द्र प्रभावी, गोरखाकी सरस्वती श्रेष्ठ सरु, बागलुङका सुमन श्रापित, पर्वतका शान्तिनारायण श्रेष्ठ, कास्कीका धनबहादुर गायक र कृष्णप्रसाद पौडेल यस अगाडि सम्मानित भइसक्नुभएको छ । सम्मानको राशि नगद रु १० हजार पाँच सय ५५ नगद, सम्मानपत्र र दोसल्ला छ ।
यस वर्ष दुवै सम्मान २०७९ चैत १८ गतेका दिन प्रदान गरिने सङ्घर्षमा कलमका सदस्यसचिव असफल गौतमले जानकारी दिनुभयो ।