नेविसंघले सार्वजनिक गर्‍यो घोषणापत्र

हाम्रो सन्देश संवाददाता

२ चैत, काठमाडौं ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । नेविसंघ केन्द्रीय समितिले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनिक गरेको हो ।

नेविसंघले घोषणापत्रमा अनिवार्य निःशुल्क स्वास्थ्य बिमा गराउनेदेखि विद्यार्थीलाई प्रविधिमैत्री हेल्थ कार्ड उपलब्ध गराउने संकल्प गरेको छ । नेविसंघले व्यावहारिक शैक्षिक क्यालेन्डरसमेत निर्माण गर्ने घोषणा गर्दै त्यसको खाका प्रस्तुत गरेको छ ।

माध्यमिक शिक्षासम्म अनिवार्य र निःशुल्क बनाउने र उच्च शिक्षा सबैको पहुँचमा, गुणस्तरीय र सर्वसुलभ हुँदै क्रमशः निशुल्क बनाउने नेविसंघको अठोट छ ।

घोषणापत्रमा अपांगमैत्री शिक्षालय, छात्रवृत्तिको न्यायोचित वितरण, स्वच्छ पर्यावरण र सुन्दर वातावरण, स्वदेशमै शिक्षा, स्वदेशमै भविष्य, विद्यार्थी सहुलियतको विशेष प्याकेजलगायतका विषय समेटिएका छन् ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थीको आन्दोलनमार्फत देशको व्यवस्था परिवर्तन भए पनि विश्वविद्यालयको अवस्था परिवर्तन हुन नसकेको बताए । उनले घोषणापत्रमा सबै विषयलाई समेटिएको भन्दै घोषणापत्रका प्रतिबद्धता पूरा गर्ने बताए । अध्यक्ष शेर्पाले लामो समयसम्म स्ववियु निर्वाचन हुन नसक्दा विश्वविद्यालयमा धेरैखाले समस्या देखा परेको बताएका थिए ।

घोषणापत्रमा नेविसंघले ‘के गर्ने’ र ‘के नगर्ने’ भन्दै नीतिगत घोषणा पनि गरेको छ । जसअनुसार गर्ने कुरामा विश्वविद्यालय ऐन निर्माणको नेतृत्व गर्ने, सस्टेनेबल प्राक्टिसेस र वातावरण संरक्षण अभियानको नेतृत्व गर्ने, महँगी, कालोबजारी र भ्रष्टाचारको अन्त्य गर्ने, सबै शिक्षालयमा स्टुडेन्ट रिसर्च युनिटको स्थापना गर्ने विषय समेटिएका छन् ।