यस्तो छ आज विदेशी मुद्राको विनिमयदर,कसको कति ?

हाम्रो सन्देश संवाददाता

१ चैत, काठमाडौं ।

नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ६९ पैसा र बिक्री दर १३२ रूपैयाँ २९ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ १० पैसा र बिक्री दर १४१ रूपैयाँ ७४ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ३ पैसा र बिक्री दर १६० रूपैयाँ ७६ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४४ रुपैयाँ ५८ पैसा र बिक्री दर १४५ रुपैयाँ २४ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ७१ पैसा र बिक्री दर ८८ रुपैयाँ ११ पैसा रहेको छ ।

पुनःस्थापनाका कार्यक्रम ल्याउन हरवाचरवाको माग
राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले अधिकारसम्पन्न हरवाचरवा पुनःस्थापना समिति गठन गरी लगत सङ्कलन तथा बहुआयामिक गरिबी निवारणसहित पुनःस्थापनाका कार्यक्रम ल्याउन मधेस प्रदेश सरकारसित माग गरेको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मङ्गलबार ज्ञापनपत्र बुझाउँदै मञ्चका अध्यक्ष दशनलाल मण्डलसहितको टोलीले २०७९ साउन २ गते सङ्घीय सरकारले हरवाचरवा मुक्ति, ऋण तथा कागजात खारेजीको घोषणा गरे पनि पुनःस्थापनाका काम अगाडि नबढेको भन्दै गुनासो गरेको छ । प्रदेश सरकारलाई एकीकृत प्याकेजसहित न्यायिक पुनःस्थापना गर्नुपर्ने र त्यसका लागि तत्काल अधिकारसम्पन्न हरवाचरवा पुनःस्थापना समिति गठनको माग गरिएको अधिवक्ता बालाराम भट्टराईले जानकारी दिनुभयो ।

संविधान र कानुनले निषेध गरेको हरवाचरवा प्रथा मधेस प्रदेशका आठ जिल्लामा अझै अस्तित्वमा रहेकाले यसलाई हटाउन विस्तृत कार्ययोजना र कार्यविधि तत्काल प्रदेश मन्त्रिपरिषद्बाट पारित गरी जीविकोपार्जनका लागि पर्याप्त जोतिखाने भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र समावेशीकरणसहितको एकीकृत प्याकेज घोषणा गर्न माग गरिएको छ । मुख्यमन्त्री यादवले ज्ञापनपत्रमा उठाइएका विषय सम्बोधनका लागि प्रदेश सरकारले आवश्यक नीति तथा योजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको मञ्चका अध्यक्ष मण्डलले बताउनुभयो ।

“मुख्यमन्त्रीले आगामी आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रममार्फत ठोस कार्यक्रम ल्याउन छलफल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यसबाट हामी आशावादी भएका छौँ”, उहाँले भन्नुभयो । ज्ञापनपत्रमा पुनःस्थापनाका लागि एकीकृत प्याकेज घोषणा, रोजगारीविहीन हरवाचरवालाई छ महिनाभन्दा लामो दीर्घकालीन प्रकारको सीपसम्बन्धी तालिम, रु एक लाखको बीउ पुँजी र आवश्यक औजार प्रदान गर्नुपर्ने, बहुआयामिक गरिबी निवारण कार्यक्रम ल्याउनुपर्ने, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशित र परिचालित गरेर तुरुन्तै सुरु हुने गरी हरवाचरवाको लगत सङ्कलन र सोका लागि एक अधिकारसम्पन्न हरवाचरवा पुनःस्थापना समिति गठन तथा आगामी नीति तथा कार्यक्रम र बजेटमा हरवाचरवाको पुनःस्थापनाका लागि पर्याप्त बजेट विनियोजनको माग गरिएको छ ।