टर्कीमा पुनः शक्तिशाली भूकम्प, छ जनाको मृत्यु

हाम्रो सन्देश संवाददाता

९ फागुन, एन्टाक्या ।

टर्कीमा पुनः शक्तिशाली भूकम्प भएको छ । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रबिन्दु बनाएर सोमबार भएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ । भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो ।

सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा भएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।

गत माघ २३ गते टर्कीको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर भएको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पमा परी टर्की र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।

विज्ञान र प्रविधिको विकासमा प्रतिबद्ध छुः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान र प्रविधिको विकास नभइ नेपालको विकास हुन नसक्ने बताउनुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलमा उहाँले विज्ञान र प्रविधिको विकासमा जोड दिनुभएको हो । “वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

वर्तमान युग विज्ञान र प्रविधिको युग भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसको विकास अपरिहार्य भइसकेको चर्चा गर्दै उहाँले बताउनुभयोे, “अहिलेको युग नै विज्ञान र प्रविधिको हो । जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन ।”
विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी हुनुपर्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्री दाहालले विद्यमान ऐन कानुनको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उक्त केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले निर्वाह गर्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।

कृषि, शिक्षा, ऊर्जा, पर्यटन, स्वास्थ्यलगायत क्षेत्रमा नवीनतम आविष्कारका माध्यमबाट आत्मनिर्भर हुनेगरी नेपालको निर्माण गर्न सकिने अनुभव सुनाउँदै प्रमुख पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयोे । छलफलमा राष्ट्रिय योजना आयोगका अध्यक्ष मीनबहादुर श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायतको उपस्थिति थियो ।