दुर्योधन बस्नेत
काहिंला बुबाका नातिहरुको उपनयन कार्यक्रम सकेर काभ्रेको पनौतीबाट ट्याक्सीमा काठमाण्डौ फर्कंदै गर्दा साहिंला बुबाको छोरी (दिदी)ले चालकलाई ‘छोराछोरी कति छन्’ भाईको भनेर सोध्नुभयो । भाईले ‘विवाह भएको ८–९ महिना मात्र भयो । बच्चा भएको छैन’ भनेर जवाफ दिए । दिदीले सहजै भन्नुभयो, ‘छोराछोरी छिट्टै जन्मिए भने छिट्टै हुर्किन्छन्, बढ्छन्, पढाईलेखाई गर्छन, जागिर खान्छन र बाबुआमालाई पाल्छन्, सुख दिन्छन् ।’
छोराछोरी नहुँदाको पीडा भोगिरहनु भएकी विचरी दिदीलाई के थाहा कि छोराछोरीले दिएको पीडा कति दर्दनाक हुन्छ ? सोध्नुपर्छ बृद्धाश्रममा दिन गुजारा गर्दै काल पर्खिरहेका वृद्ध बाबुआमालाई । सोध्नुपर्छ सडकपेटीमा दुई चार पैसा मागेर बसिरहेका बृद्धवृद्धाहरुलाई । सोध्नुपर्छ धर्मशालामा कसैको दयामा बाँचिरहेका बृद्ध बाबुआमालाई । सोध्नुपर्छ छोराबुहारी घरभरी हुँदा समेत उनीहरुले भरेर दिएको मानो चामल खाएर एक्लै बस्न बाध्य बुढाबुढीलाई ।
दिदी एक्लै हुनुहुन्छ । छोराछोरी हुँदाको अनुभव गर्न पाउनु भएको छैन । छोराछोरी नहुँदाको अनुभव मात्र छ दिदीलाई ।
मैले भनेँ, ‘दिदी! नहुँदाको आनन्द महसुस गर्ने प्रयास गर्नुहोस् । त्यसैमा रमाउनुहुन्छ तपाईं । हामी केवल प्राप्तीमा रमाउन जान्यौँ । नहुँदा ठिकै छ नि त भनेर कहिल्यै चित्त बुझाउन सकेनौँ । भौतिक सुख नै सर्वश्व ठान्यौँ र त सधैँ दुखी भैरह्यौँ ।