टर्किमा लगातार शक्तिशाली भूकम्प, मृतक २,४००-घाईते दशौं हजार !

हाम्रो सन्देश संवाददाता

२४ माघ, काडमाडौं ।

टर्कीमा सोमवार गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४,३०० पुगेको छ। टर्कीमा मात्रै कम्तीमा २,९२१ जनाको मृत्यु भएको विपद् तथा आपतकालिन निकायका प्रमुखले जनाएका छन्।

त्यहाँ घाइते हुनेको सङ्ख्या १५,८३४ पुगेको बताइएको छ। भूकम्पको प्रभाव परेको टर्कीको दक्षिणी भेग अनि सिरियाको उत्तरी भेगमा उद्धार कार्य जारी छ। सिरियामा १,४०० भन्दा बढीले ज्यान गुमाएको विवरणहरू सार्वजनिक भएका छन्।

हजारौँ भवन भत्किएका टर्की र सिरियामा उद्धार कार्यमा खटिएकाहरूले भग्नावशेषमा फसेका मानिसहरूलाई निकाल्न सङ्घर्षरत छन्। यूएस जियोलोजिकल सर्भेका अनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निट्यूको भूकम्प गएको थियो।

अघिल्लो भूकम्पबाट प्रभावित क्षेत्रमै दोस्रो भुइँचालो पनि गएको थियो। टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको सात दशमलव आठ म्याग्निट्यूको भूकम्पका कारण कैयौँ भवन भत्किएका थिए। उक्त क्षेत्रमा लाखौँ सिरियाली शरणार्थीहरूको बसोबास छ। भूकम्पको धक्का लेबनन र गाजामा समेत महसुस गरिएको थियो। टर्कीले सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।

राष्ट्रपति रेजेप ताइयीप एर्दोआनले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश दिँदै भनेका छन्, “हामी अपेक्षा गर्छौँ कि सकेसम्म चाँडो र कम क्षतिसहित हामी यो विपद्‌बाट पार पाउनेछौँ।” उनले प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार टोली तत्कालै पठाइएको भन्दै अरू एकाइहरूलाई पनि सतर्क अवस्थामा राखिएको बताए।

टर्कीको सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेपछि विभिन्न देशले सहयोगको वाचा गरेका छन्। कतिपय देशहरूबाट खोज उद्धार र राहतका लागि सहयोग परिचालन गरिएको विवरण प्राप्त भएको छ।

भूकम्प गएको स्थान दक्षिण-पूर्वी टर्कीस्थित गाजीयान्टेप सिरियासँगको सीमानजिकै पर्छ।

भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस भएका विवरणहरू प्राप्त भएको छ। कैयौँ भवनहरू भत्किएका र त्यहाँ केही मानिस फसेका हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन्।

भूकम्पपछि परकम्पहरू पनि महसुस गरिएका विवरण आएका छन्। भूकम्पको केन्द्रबिन्दु रहेको गाजीयान्टेपमा रहेको दुई हजार वर्षभन्दा पुरानो गाजीयान्टेप कासलका अधिकांश हिस्सामा क्षति पुगेको छ।

दियारबाकरस्थित बीबीसी टर्कीश संवाददाताका अनुसार त्यहाँ एउटा सपिङ मल भत्किएको छ। गाजा स्ट्रिपमा रहेका बीबीसीका एक कार्यक्रम उत्पादक रुश्दी अबुअलौफले आफू बसेको घर करिब ४५ सेकेन्ड हल्लिएको बताए।

टर्कीका भूकम्पविद्ले भूकम्प ७.४ म्याग्निट्युडको रहेको अनुमान गरेका छन्। उनीहरूका अनुसार केही मिनेटमै दोस्रो धक्का महसुस भएको थियो।