मुटुमा समस्या भएको कसरी थाहा पाउने ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण मास्के भन्छन्– हृदयाघात वा मुटुरोगसम्बन्धी समस्याहरू जोसुकैलाई हुन सक्छ । लक्षण देखिएमा अनिवार्य चिकित्सकसँग परामर्श लिनुपर्छ ।

मुटुरोगको जोखिम केही दशकयता बढ्दै गइरहेको छ । अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र धुमपानका कारण युवाहरूमा समेत हृदयाघातको जोखिम बढिरहेको चिकित्सकहरूको भनाइ छ ।

अहिले मुटुको समस्या लिएर अस्पताल पुग्ने ४० वर्षमुनिका बिरामीमध्ये २० देखि २५ प्रतिशत हृदयाघातका हुने गरेको अस्पतालहरूको तथ्यांक छ । अस्पताल पुग्ने कुल बिरामीमध्ये मुटुसम्बन्धी समस्या भएकाहरू दोस्रो–तेस्रो नम्बरमा हुन्छन् । सामान्यतया मुटुसम्बन्धी रोगको समस्या विश्वभरि नै बढ्दो छ । तर, दक्षिण एसियाली देशहरूमा तुलनात्मक रूपमा अझै बढी रहेको विभिन्न अध्ययनले देखाएका छन् । मुटुमा समस्या देखिए अन्य अंगमा पनि असर पर्ने भएकाले मुटुरोगबाट टाढै बस्नु बुद्धिमानी हुने चिकित्सकहरूको सुझाब छ । शरीरमा यस्ता परिवर्तन देखिए चिकित्सकसँग परामर्श लिनुपर्ने उनीहरूको भनाइ छ ।

अत्यधिक चिन्ता र धड्कनमा गडबडी
विभिन्न अध्ययनहरूले मुटुमा समस्या देखिए अत्यधिक तनाव र मुटुको धड्कनमा परिवर्तन महसुस हुन्छ । अत्यधिक चिन्ता लिने व्यक्तिमा शारीरिक र मानसिक बराबर असर पर्ने हुँदा मुटुको चालमा आउने परिवर्तनलाई समेत यसकै संकेतका रूप मानिन्छ । धड्कनमा गडबडी देखिए मुटुमा समस्या भएको हुन सक्छ ।

पाखुरामा दुखाई
अधिकांश हृदयाघातका घटनामा सुरुमा छातीमा दुखाई हुने गरेको छ । जुन बिस्तारै पाखुरा, घाँटी र शरीरको अन्य भागमा फैलिँदै जान्छ । यस्तो दुखाई केही समयसम्म मात्रै रहन्छ । तर, बायाँ हात दुखाई हृदयाघातको सबैभन्दा सामान्य लक्षणमध्ये एक हो । अमेरिकन हर्ट एसोसिएसनका अनुसार अचानक देब्रे हातमा हुने दुखाई हृदयाघातको संकेत हो यसलाई बेवास्ता गर्नु हुँदैन ।

बान्ता हुने वा भोक नलाग्ने
अपच, पेट दुख्ने, बान्ता हुने र भोक नलाग्ने समस्या पनि मुटुसम्बन्धी रोगका लक्षण हुन सक्छन् । यस्ता लक्षणहरू ग्यासट्राइटिसमा देखिने भए पनि चिकित्सकसँग परामर्श र स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ ।

रिंगटा लाग्ने वा बेहोस हुने
रोग नियन्त्रण र रोकथाम केन्द्रको एक रिपोर्टअनुसार, मुटुरोगपीडित व्यक्तिहरूमा कमजोरीपन, हल्का टाउको दुख्ने वा बेहोस हुनेजस्ता समस्या हुन सक्छ । मुटुले रगत राम्रोसँग पम्प नगर्दा, मस्तिष्कमा हुन जाने कम रक्तसञ्चारका कारण रिंगटा लाग्ने वा बेहोस हुने हुन्छ ।

छाला पहेँलो हुने
रक्तसञ्चारमा कमी आउँदा प्रत्येक कोषिकाहरूमा असर देखिन थाल्छ । जुन छालामा प्रस्ट देखिने गर्छ । छाला पहेँलो हुनुलाई गम्भीर लक्षणका रूपमा लिने गरिन्छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण मास्के भन्छन्, ‘हृदयाघात वा मुटुरोगसम्बन्धी समस्याहरू जोसुकैलाई हुन सक्छ । केही दशकयता कम उमेरमै मुटुरोगको जोखिम बढेको अध्ययनले समेत देखाएका छन् । तसर्थ यस्ता लक्षण देखिएमा अनिवार्य चिकित्सकसँग परामर्श लिनुपर्ने हुन्छ ।