बेपत्ता खत्रीको शव सशस्त्रको गोताखोर टोलीद्वारा फेला (भिडियो सहित)

हाम्रो सन्देश संवाददाता

५ माघ, काठमाडौं ।

काठमाण्डौँको कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुल नजिकै कार दुर्घटना हुँदा बागमती नदीमा खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आज फेला पारेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण तथा नम्बर २० विपद् उद्धार गण काठमाडौँबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करिब सय मिटर तल फेला पारेको हो । तीन दिनपछि फेला पारिएको उनको शवलाई आजै सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले नेपाल प्रहरीलाई बुझाएको छ ।

यही माघ २ गते बा५च ५६५४ नंको कार नदी किनारमा खसेको थियो । दुर्घटनामा कारमा सवार काठमाडौँ दक्षिणकाली नगरपालिका–१ बस्ने अन्दाजी ४० वर्षीय राजकुमार खत्री बेपत्ता भएका थिए । उक्त दुर्घटनामा अम्बिका लामिछाने घाइते भएकी थिइन् ।

https://www.youtube.com/watch?v=W5bHMOaIVNM&t=349s

चन्द्रागिरिमा ट्रकको ठक्करबाट मोटरसाइकल चालककोे मृत्यु
काठमाडौँको चन्द्रागिरिमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डामा ना६ख ६६१५ नंको ट्रकले प्रदेश३–०२–०१प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धादिङ धुनिबेँसी नगरपालिका–९ घर भई हाल चन्द्रागिरि –१ दहचोक बस्ने ४५ वर्षीय राजकुमार सुनारको आज दिउँसो मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते सुनारको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार एक र पैदलयात्री एक जना गरी दुई जनाको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । सवारी दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिए पनि ट्रक चालक भने फरार रहेकाले खोजी भइरहेको प्रवक्ता भट्टले बताउनुभयो ।