विमान दुर्घटनामा ज्यान गुमाएका चार भारतीयको परिवारलाई ३२ लाख क्षतिपूर्ति दिने

हाम्रो सन्देश संवाददाता

४ माघ, काठमाडौं ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको यतीको विमान दुर्घटनामा परी ज्यान गुमाउनेमा पाँच भारतीय थिए । तीमध्ये चार जना उत्तर प्रदेशका हुन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यी चारै मृतकका परिवारलाई भारु पाँच–पाँच लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको विमान दुर्घटनामा ज्यान गुमाएका गाजीपुर जिल्लाका चार युवाका परिवारलाई प्रति व्यक्ति पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यतीको विमान अवतरणअघि नै दुर्घटनाग्रस्त भएको थियो । यस दुर्घटनामा ७० जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल सरकारले दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन गरेको छ ।

कुरा होइन, काम गरेर देखाउँछौँ : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वर्तमान सरकारले कुराभन्दा काम गरेर देखाउने बताउनुभएको छ ।

नेकपा (एमाले) व्यास नगर कमिटीले आज दमौलीमा आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री अधिकारीले धेरै कुरा गर्ने तर काम नगर्ने प्रवृत्ति हाबी भएको भन्दै आफूहरु काममा केन्द्रित हुने उल्लेख गर्नुभयो । विकास नहुनुको मुख्य जड कुरा बढी गर्ने प्रवृत्ति रहेको भन्दै उहाँले भन्नुभयो, “अहिलेको सरकारले कामबाटै जनताको विश्वासलाई पूरा गरेर देखाउनेछ ।” मुख्यमन्त्री अधिकारीले जनताले कुरा गर्ने नेतालाई पत्याउन छाडेको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने भन्दै मुख्यमन्त्री अधिकारीले सानो आकारको मन्त्रिमण्डल बनाइने प्रष्ट पार्नुभयो । “ठूलो आकारको सरकार बनाउने पक्षमा हामी छैनौँ, सानो र चुस्त आकारको मन्त्रिमण्डल बनाउँछौँ”, उहाँले भन्नुभयो ।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य रहनुभएका अधिकारीले चौतर्फी घेराबन्दी हुँदा पनि पार्टीले सफलता हासिल गरेको बताउनुभयो । विकास निर्माणमा सरकारको स्रोतसाधनले भ्याएसम्मका काम गरिने बताउँदै मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “पार्टीलाई एकताबद्ध भएर अगाडि बढाऔँ, एमाले लोकप्रिय पार्टी हो ।”

कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत, एमाले केन्द्रीय सल्लाहकार सदस्य एकबहादुर रानालगायतको उपस्थिति थियो ।