अमेरिकाबाट आएका “राजन” लाई लिन गएकी थिइन श्रीमती आशिका

हाम्रो सन्देश संवाददाता

२ माघ, काठमाडौं ।

पोखराको हेमजा हनुमान चोकका “राजन सापकोटा” को घरमा आज बिहानै देखि खुसियाली थियो । एक त माघे सङ्क्रान्ति पर्व अर्को तर्फ अमेरिकाबाट आउँदै गरेका “राजन” ।

अमेरिकाबाट शनिवार काठमाडौँ झरेका सापकोटालाई लिन उनकी श्रीमती आशिका हिजो नै काठमाडौँ पुगेकी थिइन् । माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पती यति एअर लायन्सको जहाज चढी पोखरा आउँदै थिए ।

पोखराको विमानस्थलमा झर्न नपाउँदै विमान दुर्घटनामा पर्‍यो ।सापकोटा आउने कुरा छर छिमेक सबैलाई थाहा भइसकेको थियो । बिहान सम्मको खुसियाली छाएको सापकोटाको परिवार यतिखेर शोकमा डुबेको छ ।

सापकोटाकी आमा गीता दुर्घटनाको खबर सँगै बेहोस बनेकी छन् । उनका छरछिमेक सबैका आँखा रसाएका छन् ।डीभी परेर दुई वर्ष अघि मात्र अमेरिका गएका सापकोटा गएको वर्ष बिहे गर्नका लागि पोखरा आएका थिए ।

गएको वर्ष माघको १९ गते विवाह गरेका सापकोटा फेरि अमेरिका फर्की शनिवारमात्रै नेपाल आएका हुन् । उनका काका प्रकाशचन्द्रका अनुसार घरपरिवारसँग भेटघाट गरेर फर्कने गरी राजन नेपाल आएका थिए ।

‘दुर्घटनाको खबरसँगै हामी छरछिमेक सबै शोकमा डुबेका छौँ’, उनले भने । उता दुर्घटनाले आशिकाका माइतीहरू पनि शोकमा छन् । सापकोटासँगै हेमजाकै जीतेन्द्रबहादुर कुँवर र उनकी श्रीमती भगवती पनि त्यस विमानमा सँगै दुर्घटनामा परेका छन् ।

घरायसी कामकाजको सिलसिलामा काठमाडौँ गएका कुँवर दम्पतीले छोराछोरीलाई भने शनिवार बसमा पोखरा पठाएका थिए । जहाज दुर्घटनामा हेमाजाकै चार/चार जना परेपछि यतिखेर सिङ्गो हेमजा शोकमा डुबेको छ ।

चालक दलका चार सदस्यसहित ७२ जना यात्रु सवार यति एयरको जहाज आज बिहान दुर्घटना हुँदा अहिलेसम्म ६९ जनाको शव निकालिएको छ । बेपत्ता भएका तीनजनाको खोजी कार्य जारी रहेको छ ।