भोलि देशभर शोक बिदा दिने सरकारको निर्णय

हाम्रो सन्देश संवाददाता

१ माघ, काठमाडौं ।

सरकारले भोलि सोमबार शोक बिदा दिने निर्णय गरेको छ । पोखरामा आइतबार बिहान यती एयरलाइन्सको जहाज दु’र्घटनामा परेर मृत्यु भएकाहरुको सम्झनामा शोक मनाउन भोली सोमबार सरकारले देशैभर शोक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको आजको आकस्मिक बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घ’टना ६९ जनाले ज्यान गुमाएका छन् । यती एयरलाइन्सले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ६९ जनाको मृत्यु भइसकेको छ भने बाँकी तीनजनाको खोजीकार्य जारी छ ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका चार जनासहित ७२ जना सवार थिए । ती मध्ये ६९ जनाको शव फेला परेको भए पनि तीन जनाको अझैँ बेपत्ता रहेका छन् ।

यो पनि : विमान दुर्घटना : माछापुच्छ्रेको काभ्रे गाउँ शोकमा
काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटनाले कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ को काभ्रे गाउँ शोकमा डुबेको छ ।

पोखरामा आज भएको विमान दुर्घटनामा विमानमा सवार काभ्रे गाउँका बेलमान गुरुङ र उहाँका धर्मपत्नी सीता गुरुङको निधनले गाउँ शोकमा डुबेको हो ।

बेलमान गत साउनमा मौसमी भिसामा बेलायत जानुभएको थियो । उहाँ यही पुस २९ गते घर आउन काठमाडौँ आउनेभएपछि श्रीमती सीता सोही दिन काठमाडौँ पुग्नुभएको थियो ।

उहाँहरू दुवै जना यतीको विमानमार्फत पोखरा आउँदै गरेको र दुर्घटनामा परेको माछापुच्छ्रे–२ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले बताउनुभयो । उहाँका अनुसार बेलमान दम्पतीले बिहान ११ः०० बजेको यतीको अर्को जहाजको टिकट लिए पनि बोर्डिङ पास लिइसकेको र अघिल्लो जहाजमा सिट खाली रहेकाले सोही जहाज चढ्नुभएको थियो ।

वडाध्यक्ष आचार्यले दुर्घटनाको खबर लगत्तै गाउँ शोकमा डुबेको बताउनुभयो । उहाँले भन्नुभयो, “बेलमान दम्पती गाउँमा सहयोगी हुनुहुन्थ्यो । उहाँहरू सवार विमान दुर्घटना भएको खबर गाउँमा फैलिएसँगै सबै शोकाकुल छन् ।”

बेलमान बेलायत जानुअघि गाउँमै रेष्टुरेण्ट सञ्चालन गर्नुहुन्थ्यो । उहाँ विदेशिएपछि सीताले रेष्टुेरेन्ट सञ्चालन गर्दै आउनुभएको छ ।

बेलमानका बुबा इन्द्रबहादुर गुरुङ नेपाली कांग्रेस वडाका पूर्वसभापति हुनुहुन्छ । गाउँमा उहाँको समाजसेवीको पहिचान छ ।

इन्द्रबहादुरको परिवारमा परेको शोकले सबै दुःखित बनेको वडाध्यक्ष आचार्यले बताउनुभयो । स्व गुरुङका दुई छोरी र एक छोरा छन् । विमान दुर्घटनामा परी माछापुच्छ्रे गाउँपालिका–७ का शिवकुमार गुरुङको पनि निधन भएको बताइएको छ ।

काठमाडौँबाट पोखराका लागि उडेको यतीको एटिआर विमान पोखरा विमानस्थलमा अवतरणको केही मिनेटमात्र बाँकी छँदा विमानस्थल नजिकै सेती नदी खोँचमा दुर्घटनामा परेको थियो ।

विमानमा चालकदलका चार र ६८ यात्रु गरी ७२ जना सवार थिए । दुर्घटनाको उद्धार कार्य राति अबेरसम्म जारी छ । हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।