स्वस्थानी मेलाभर साँखु बसपार्कदेखि बज्रयोगिनीसम्म निःशुल्क बससेवा

हाम्रो सन्देश संवाददाता

३० पुस, काठमाडौं ।

शालिनदी यातायातले स्वस्थानी मेला भर्न साँखु शालिनदी पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म लैजानका लागि निःशुल्क बस सेवा सुरु गरेको छ ।

शालिनदी यातायातले पुस २२ देखि स्वस्थानी मेला (माधवनारायण) मेलाभर शालिनदी मेला भर्न आएका भक्तजनको सुविधाका लागि सार्वजनिक बिदा र शनिबार दैनिक दुईवटा बस निःशुल्क प्रदान गरेको हो ।

शालिनदी यातायातका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले शालिनदी मेला भर्न पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म पुग्नका लागि साँखुस्थित नयाँ बसपार्कबाट बज्रयोगिनी मन्दिरसम्म दैनिक दुईवटा बस निःशुल्क प्रदान गरिएको राससलाई जानकारी दिनुभयो ।

काठमाडौँको उत्तरी भाग शङ्खरापुर नगरपालिकामा पर्ने मणिचुड पर्वतको दुई पहराको बीचमा अवस्थित बज्रयोगिनी मन्दिर धार्मिक, पुरातात्विक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । भगवान बुद्धको तपस्याबाट प्रशन्न भई प्रकट हुनुभएकी पार्वती नै बज्रयोगिनी भएको किवंदन्ती छ । यहाँ बौद्ध र हिन्दू परम्पराअनुसार देवीको पूजा गरिन्छ ।

उपत्यका र वरिपरि जिल्लाका भक्तजनले तान्त्रिक देवीको रूपमा बज्रयोगिनीको आराधना गर्छन् । यस्तै शालिनदी मेला भर्न गएका भक्तजनसमेत एकपटक बज्रयोगीनी मन्दिरसम्म पुग्ने गरेका छन् ।

गत वर्षहरूमा कोरोनाका कारण शालिनदी मेला भर्ने भक्तजनको सङ्ख्या तुलानात्मकरूपमा कम भए पनि यस वर्ष भने शालिनदी मेला भर्ने भक्तजनको सङ्ख्या ३० लाखभन्दा बढी हुने माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

कैलो नदर राक्षसलाई भुलाउन बडगाउँमा माघी मेला
रुकुमपश्चिमकोे बाँफीकोट गाउँपालिका–५ मा माघीको अवसरमा आजदेखि मेला सुरु भएको छ । वडागाउँमा लाग्ने मेला अन्य मेलाभन्दा फरक छ । मेलाको अवसरमा सिस्नो खेल्ने, पायो माग्ने र खोलामा साना बालबालिकालाई बेहुला–बेहुली बनाएर विवाह गरिदिने प्रचलन छ ।

यो वर्ष पनि मेलाको निमन्त्रणा दिन गएको टोलीले मेलामा आउन आग्रह गर्दै पाहुनालाई सिस्नाले हानेर माघीको कोसेली बाँडेको थियो । मेला सुरु हुनुभन्दा अघिल्लो दिन शुक्रबार गाउँपालिकाको कार्यालयलगायत कार्यालयमा पुगेर मेला आयोजक समितिले सिस्नोले हान्दै मेलामा आउन निमन्त्रण दिएको हो ।

पाहुनालाई मेलामा निमन्त्रणा गर्दा सिस्नोले हान्ने चलन पुरानो भए पनि बीचमा यो प्रचलन हराएको थियो । यो वर्षदेखि फेरि सिस्नोले पहुनालाई हान्ने प्रचलन चलाइएको स्थानीय युवा प्रम पुनले जानकारी दिनुभयो । कलौ नदर राक्षसलाई भुलाउनका लागि सिस्नो खेल्ने प्रचलन रहेको उहाँको भनाइ छ ।

आजदेखि सुरु भएको माघी मेलामा भोलि बिहान सङ्क्रान्तिको अवसरमा पायो माग्ने प्रचलन रहेको छ । भोलि बिहानै प्रत्येकको घरमा गएर पायो मागिने छ । पायो मागिसकेपछि गाउँलेहरू एकापसमा सिस्नो खेल्ने प्रचलन छ ।

माघ २ गते भने वडा नं ५ र ६ बाट साना बालबालिकालाई बेहुला–बेहुलीको स्वरूपमा सजाएर खोलामा लगेर विवाह गरिदिने प्रचलन रहेको पुनले जानकारी दिनुभयो । खोलामा कलौ नदर भूतलाई झुलाउनका लागि बाजागाजासहित बेहुला–बेहुलीको विवाह गरिदिने प्रचलन रहेको छ । कलौ नदर राक्षसबाट बच्नका लागि स्थानीयवासीले दुबो र पाती जलाएर कालो टीका पनि लगाउने गर्छन् ।