डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव, आमा र सौतेनी आमा पक्राउ

हाम्रो सन्देश संवाददाता

३० पुस, काठमाडौं ।

डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो ।

घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन गरेर निकालिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसुमबहादुर नायकले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको अनुसन्धानका लागि मृतक बालककी आमा ३४ वर्षीया कलामती र सौतेनी आमा ३० वर्षीया जानकीलाई नियन्त्रणमा लिइएको छ ।

मृतक बोहरा यही पुस १२ गतेदेखि घरपरिवारको सम्पर्कमा थिएनन् । उनको परिवारले प्रहरीलाई जानकारी गराएपछि खोजबिन गर्दा शव खाल्डोमा पुरिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक नायकले बताउनुभयो । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

पूर्वप्रधानमन्त्री आचार्यको घरलाई सङ्ग्रहालय बनाइने
पूर्वप्रधानमन्त्री स्व टङ्कप्रसाद आचार्यको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीस्थित जन्मघरलाई सङ्ग्रहालय बनाइने भएको छ । नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्षसमेत रहनुभएका उहाँको करिब एक सय वर्ष पुरानो जीर्ण घरलाई सङ्ग्रहालय बनाउन लागिएको हो ।

लुम्बिनी प्रदेश सरकारको रु ५० लाखको लगानीमा सङ्ग्रहालय बनाउने योजना अघि बढाइएको हो । “घर निकै जीर्ण छ, जीर्णोद्वार गर्न असम्भव देखिन्छ । उस्तै नयाँ घर बनाएर सङ्ग्रहालयमा परिणत गर्ने योजना छ”, टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानका सदस्य एवं लुम्बिनी प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री वैजनाथ चौधरीले भन्नुभयो ।

जीर्ण बनेको उक्त घरलाई २०७२ सालमा गएको भूकम्पले थप क्षति गरेपछि स्थानीयले संरक्षण गर्न माग गर्दै आएका थिए । “तीन दशकदेखि घरको संरक्षणको माग गरिँदै आएको थियो”, चौधरीले भन्नुभयो । स्व आचार्यको घर परासीको गौरव भएकाले सङ्ग्रहालयका रुपमा परिणत गर्ने योजना अघि बढाइएको उहाँको भनाइ छ ।

प्रदेशसभा सदस्य वैजनाथ जैसवालले पुरातत्व विभागसँग समन्वय गरेर काम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्व आचार्यको घरको जीर्णोद्धार गर्न जरुरी भएको उल्लेख गर्दै आवश्यक परे थप बजेटका लागि प्रदेश सरकारसँग पहल गर्ने बताउनुभयो । स्व आचार्यको जन्म विसं १९६९ मा भएको थियो । उहाँको २०४५ सालमा निधन भएको थियो । उहाँ २०१२ सालमा मुलुकको प्रधानमन्त्री बन्नुभएको थियो ।