त्रिवि शिक्षण अस्पतालमा नवौं कलेजो प्रत्यारोपण

हाम्रो सन्देश संवाददाता

२९ पुस, काठमाडौं ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा नवौं कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। विभिन्न कारणले ९ महिनादेखि रोकिएको कलेजो प्रत्यारोपण शुक्रबार राती सर्जन प्रा.डा. रमेश सिंह भण्डारी नेतृत्वको टिमले प्रत्यारोपण गरेको हो।

काठमाडौं बाहिरका ५२ वर्षीय पुरूषलाई उनका १९ वर्षीय छोराले कलेजो दान गरेको डा. भण्डारीले जानकारी दिए। डा. भण्डारीका अनुसार नवौं कलेजो प्रत्यारोपण सम्पन्न गरेको जानकारी दिँदै डा. भण्डारीले बिरामीको अवस्था सामान्य रहेको छ। त्रिवि शिक्षण अस्पतालमा २०७६ जेठ १८ गते पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न भएको थियो।

त्यसयता डा. भण्डारीकै नेतृत्वमा ९ वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेका छन्। त्रिवि शिक्षणले २०७७ चैतमा ११ महिनाका बालकमा पनि सफल कलेजो प्रत्यारोपण गसिसकेको छ। जुन नेपालमै पहिलो बाल कलेजो प्रत्यारोपण थियो।

आगलागीबाट ४९ लाख बराबरको धनमाल क्षति
गए राति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुुवा बजारमा भएको अगलागीमा रु ४९ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । स्थानीय सन्तबहादुर राईको दुई तले काठको घरमा ललिता राईले सञ्चालन गरेको पे्रmस हाउसबाट आगलागी हुँदा बजारका पाँच घर नष्ट भएका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीबाट राईको घर पूर्णरुपमा क्षति भएको छ भने अन्य चार वटा पक्की घरको छतमा निर्मित टिनका संरचना नष्ट भएका छन् ।

आगलागीबाट राईको दुई तोला सुन र नगद रु दुई लाखसहित ३७ लाख र डिकबहादुर खड्का र होमबहादुर थापाको संयुक्त घरमा निर्मित रु पाँच लाख बराबरको छतको संरचना नष्ट भएको छ ।

त्यस्तै झमक थापाको दुई तोला सुन र रु ७० हजार नगदसहित रु पाँच लाख, अर्जुन घिमिरेको रु एक लाख र डम्बर थापाको रु ५० हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जानकारी दिएको छ । आगलागी पीडितलाई राहतका लागि गाउँपालिकाको विपद् व्यवस्थापन टोली उक्त स्थानमा पुगेर राहत दिने तयारी भइरहेको पालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिनुभयो ।

पीडितलाई जनही नगद रु १५ हजारसहित बन्दोबस्तीका सामग्री दिइने अध्यक्ष सुब्बाले जानकारी दिनुभयो । बेलुका करिब ७ बजे लागेको उक्त आगो छिमेकी जिल्लाको लालिगुराँस नगरपालिका वसन्तपुर बजारबाट आएको दमकल र गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा करिब एक घण्टापछि नियन्त्रण गरिएको थियो ।