राष्ट्र बैंकको चेतावनी : कानूनविपरित विदेशमा लगानी गरे कारवाही

हाम्रो सन्देश संवाददाता

३० पुस, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ।

केन्द्रीय बैंकले एक सूचनामार्फत् विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ।

पछिल्ला दिनमा नेपाली नागरिकले विदेशका विभिन्न क्षेत्रमा लगानी गरिरहेको भन्ने आसयका समाचार एवं विवरण सार्वजनिक भएपछि सूचनामार्फत् विदेशमा पैसा नलैजान सेचत गराएको हो।

विदेशमा घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मालगायतका पुँजीगत प्रकृतिका कारोबार नगर्न सचेत गराएको छ।

बैंकले त्यससम्बन्धी प्रचारप्रसार नगर्नसमेत आग्रह गरेको छ। केन्द्रीय बैंकले तोकिदिएको व्यवस्थाबमोजिमबाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य नगर्न नगराउन ध्यानाकर्षण गराएको छ। त्यस्तो कार्य गर्ने गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यस्तो सूचना प्रकाशित गरिएको हो। नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि प्रकारको विदेशमा लगानी गर्न नपाउने केन्द्रीय बैंकले जनाएको छ।

स्रोत नखुलेको रकमसहित चार जना पक्राउ
सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार नोटसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गस्तीमा खटेको प्रहरी टोलीले शुक्रबार साँझ बागमती प्रदेश ०१–०२५ च १७९४ नम्बरको कार जाँच गर्ने क्रममा उक्त रकम फेला परेपछि कार चालक काठमाडौँ बागेश्वरी मनोहरा नपा–८ बस्ने वर्ष ३२ को पहलाद चापागाई, सोही कारमा सवार मनोहरा–२ बस्ने वर्ष २७ को सनम बस्नेत र मनोहरा–८ बस्ने ३६ वर्षीय शिव चापागाईलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

त्यस्तै प्रहरीले मलङ्गवा–२ नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडिबाट रु दुई लाखसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत जिल्ला सीतामढी ग्राम पञ्चायत मढिया–३, तिलहंगी बस्ने जयलाल महतोको छोरा १९ वर्षीय राहुल रहेको प्रहरीले जनाएको छ । महतो नगदसहित साइकलबाट आउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।