भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश

हाम्रो सन्देश संवाददाता

२९ पुस, भक्तपुर।

नेता घनश्याम भुसाल शुक्रबार पत्रकार सम्मेलनमार्फत नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् ।शुक्रबार अपरान्ह भुसालले आफूनिकट केही एमाले कार्यकर्तालाई समेत नेकपा एसमा सामेल गर्ने भएका छन् ।

भुसालले नेकपा एमालेका केन्द्रीय कमिटीमा रहेका आफूनिकट सदस्यहरुलाई आग्रह गरेपनि प्रायः कसैले साथ नदिने भएका छन् । भुसाल नेतृत्वको नेपाल अध्ययन केन्द्रमै आबद्ध एमाले नेताहरु पनि उनीसँग नेकपा एसमा सामेल नहुने भएका हुन् ।

उषाकिरण तिम्सिना, अरविन्द सिंह, टंक कार्की, दिपक प्रकाश भट्ट लगायतका नेताहरु घनश्यामसँग नजिक मानिन्छन् । अरु उनीनिकट नेताहरु यसअघि नै एमालेमा सांसदको टिकट पाइसकेका छन् ।

नेकपा एमालेभन्दा नेकपा एस कुनै अर्थमा क्रान्तिकारी पार्टी नभएको र पाँच वर्षभित्रमा एमाले,माओवादी र नेकपा एस एकै ठाउँमा आउनुपर्ने भएकाले आफूहरु नेकपा एसमा नजाने तिम्सिनाले बताइन् ।

भुसालको भने तत्काल कुनै पार्टी नरहेको र एमालेमा फर्किने ठाउँ पनि नभएकाले उनी नेकपा एसमा जानुपरेको निकट नेताहरुले बताएका छन् । माओवादीले आफ्नो कोटाको सीट दिएर उम्मेदवार बनाएका भुसालले पार्टी रोज्ने बेला नेकपा एस रोजेकोमा माओवादी नेताहरुले पनि उनको आलोचना गरेका छन् ।

राष्ट्रियसभामा कुन दलका सांसदले के भने ?
राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसदले मुलुकको समसामयिक तथा जनसरोकारका विषयमा बोल्दै सभाध्यक्षमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मुलुकमा सुशासन र समृद्धिको मुद्दालाई सशक्त ढङ्गले अघि बढाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी) खिमलाल देवकोटाले स्थानीय निकायलाई सबल बनाउन आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्थापन गरिनुपर्ने माग गर्नुभयो । स्थानीय तहमा विनियोजन भएका रू २२ अर्ब लगानीका आयोजना मन्त्रिपरिषद्को निर्णयले सङ्घीय सरकारबाटै कार्यान्वयन हुनेगरी फिर्ता ल्याइएकोमा आपत्ति जनाउनुभयो ।

सांसद देवकोटाले भन्नुभयो, “चालु बजेट वक्तव्यमा खानेपानी, पर्यटन, सहरी विकास, सडक र नदी नियन्त्रणका रु ५० लाखदेखि पाँच करोडका योजना प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिएको थियो तर, मन्त्रिपरिषद्को निर्णयले केन्द्रमा फिर्ता ल्याइयो । यो सार्वभौसम संसद्ले अनुमोदन गरेको विषय फिर्ता गर्न मिल्दैन । यो निर्णय तत्काले सच्याउन माग गर्दछु ।”

सांसद उदयबहादुर बोहराले वर्तमान सरकारलाई समर्थन जनाउनु पार्टीको कुनै स्वार्थ नरहेको स्पष्ट पार्दै सरकारको न्यूनतम साझा कार्यक्रम सफलरुपका कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । नेकपा (एमाले)का भगवती न्यौपाने लोकतन्त्रको पाठ सिकाउने पार्टीले संसदीय व्यवस्थाको उपहास गरेको आरोप लगाउनुभयो ।

एमालेकै विमला घिमिरेले सरकारले न्यूनतम साझा कार्यक्रममा अघि सारेका, सुशासन, आर्थिक विकासलगायतका एजेण्डालाई सरकार, राष्ट्रसेवक कर्मचारी र राजनीतिक दलहरुको सामूहिक प्रयासबाट सफल पार्नुपर्ने बताउनुभयो ।

सरकारलाई समर्थन गरेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारलाई रचनात्मक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले विद्यार्थीलाई समयै पाठ्यपुस्तक उपलब्ध गराउने र किसानलाई बीउ मलको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।