सरकारले २७ पुसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय !

हाम्रो सन्देश संवाददाता

२७ पुस, काठमाडौं ।

प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।

यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभएको थियो ।

पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गर्नुभएको थियो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

संस्कृति जोगाउन पुस्तकालय
विराट राजवंशीको लोप हुुन लागेको संस्कृति र परम्परा जोगाउन मोरङको विराटनगर महानगरपालिका–१२ बखरीमा पुस्तकालयको व्यवस्था गरिएको छ । नयाँ पुस्तालाई विराट राजवंशीको संस्कृति, रीतिथिति, परम्परा, वेशभूषा, भाषालगायत विषयमा जानकारी दिने उद्देश्यले पुस्तकालय सञ्चालनमा ल्याइएको हो ।

पुस्तकालयमा विराट राजवंशीको आर्थिक, सामाजिक, भाषिक, राजनीतिक र सांस्कृतिक पहिचान झल्काउने पुस्तक राखिएका छन् । विराट राजवंशी भाषामा प्रकाशित १३ पुस्तकबाट सुरू गरिएको उक्त पुस्तकालयमा हाल सात सय ८० पुस्तक छन् । पुस्तकालयमा भोर भेले जागु, राजवंशी भाषा के अस्तित्व, मरवा, मौर, जातीय अस्तित्वके खोजी मे लगायत विराट राजवंशी भाषामा लेखिएका पुस्तक छन् ।

पुस्तकालय दैनिक बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म खुल्ने गरेको छ । दैनिक बीसदेखि तीस पाठक पुस्तकालयमा आउने गरेका छन् । शनिबार विद्यार्थीको सङ्ख्या उल्लेख्य हुने गरेको पुस्तकालय सञ्चालक समितिका अध्यक्ष कुशेश्वर विराट राजवंशीले जानकारी दिनुभयो । संस्कृति र परम्परा जोगाउन पुस्तकालय सञ्चालनमा ल्याउने अभियान २०६६ सालमा सुरू गरिएको उहाँले बताउनुभयो । “लोपोन्मुख विराट राजवंशीको संस्कृति र परम्परा जोगाउने काम पुस्तकालयले गरेको छ”, उहाँले भन्नुभयो ।

समितिकी कोषाध्यक्ष चन्द्रिका विराट राजवंशीले पुस्तकालयका कारण नयाँ पुस्ताले विराट राजवंशीको परम्परा, संस्कृति, भाषा, खाना आदिको बारेमा जानकारी पाएको बताउनुभयो । पुस्तकालयलाई डिजिटल प्रणालीमा लैजाने तयारी रहेको उहाँले बताउनुभयो । पुस्तकालयका लागि विराटनगर–१२ बखरीमा भवन निर्माण गर्न इन्जिनियर राम आशिष महतोले रु १३ लाखको छ धुर जग्गा दान गर्नुभएको छ ।