पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त !

हाम्रो सन्देश संवाददाता

२२ पुस, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गर्नुभएको छ । बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उहाँले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले आज ट्वीट गर्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ । पाल्पाको रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा गए राति बस दुर्घटना हुँदा छ जनाको ज्यान गएको थियो ।

दुर्घटनामा परी १८ जना घाइते भएका छन् । प्रधानमन्त्री दाहालले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा अपिल पनि गर्नुभएको छ ।

म्याग्दीको मौवाफाँटमा प्रहरी चौकी स्थापना
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकी स्थापना भएको छ । प्रहरी चौकी भवनको बिहीबार गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले उद्घाटन गर्नुभयो ।

सबै स्थानीय तहको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने सङ्घीय सरकारको योजनाअनुसार प्रदेश सरकारको आर्थिक सहयोगमा रघुगङ्गा गाउँपालिकाले व्यवस्थापन गरेको जग्गामा एक वर्षअघि भवन निर्माण गरिएको हो । गण्डकीमा प्रदेश सरकारको सहयोगमा प्रदेश प्रहरी कार्यालयले ठेक्कामार्फत २३ एकाइको भवन निर्माण गरिएको प्रहरी नायब महानिरीक्षक जोशीले बताउनुभयो । उक्त चौकीमा हवल्दारको नेतृत्वमा पाँच सुरक्षाकर्मी तैनाथ छन् ।

प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार भवन बनाउन २०७७ असोजमा शिवाको–जयलक्ष्मी जेभी बागलुङले ठेक्का लिएको थियो । तीनतले भवनमा कार्यालय, ब्यारेक र थुनुवा कक्षका लागि १० कोठा रहेका छन् । भवन निर्माण गर्न रु एक करोड ८६ लाख ९४ हजार खर्च भएको बताइएको छ । रघुगङ्गा गाउँपालिकाका जनप्रतिनिधिको पहलमा मौवाफाँटका प्रेमनाथ शर्मा, तारानाथ शर्मा, वीरबहादुर विश्वकर्मा र मिठु खत्रीले भवन बनाउन निःशुल्क तीन रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो । भवन निर्माणस्थलसम्म सडक गाउँपालिकाले निर्माण गरेको हो ।

सदरमुकाम बेनीको जिल्ला प्रहरी कार्यालय मातहत १७ चौकी तथा पोष्ट छन् । घोरेपानी, घार, भुरुङ–तातोपानी, भगवती, पाखापानी, चिमखोला, तिप्ल्याङ, गलेश्वर, कालीपुल, मङ्गलाघाट, रत्नेचौर, सिङ्गा तातोपानी, बाबियाचौर, दरबाङ र ताकममा प्रहरी एकाइ छन् । जिल्ला प्रहरी कार्यालय, ताकम प्रहरी चौकी, सीमा प्रहरी चौकी भुरुङ तातोपानीको मात्र आफ्नै भवन छन् । अन्य प्रहरी युनिट सामुदायिक भवन र भाडाको घरमा सञ्चालित छन् ।