जनता हाम्रै पक्षमा थिए, तर बाकसमा मत खसाल्न सकेनौं- माधब नेपाल

हाम्रो सन्देश संवाददाता

२० पुस, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषय २६ पुसभित्र निर्णय गर्ने बताएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । बुधबार युवा संघ नेपालको कार्यक्रममा अध्यक्ष नेपालले अहिले नै सरकारबारे बोल्न हतार नभएको बताए ।

हामी अगाडि सरेर बोल्न के हतार ? हामीलाई के बित्दो छ र ? २६ गते विश्वासको मत लिने हो । त्यही दिन निर्णय लिए पुगेन ? उनले भने, त्यतिन्जेल सस्पेन्समै रहोस् । उनले अहिले राजनीतिक अवस्था प्रष्ट नभएकाले आफूहरुले निर्णय गर्न हतार नगरेको बताए । पोलिटिकल सिनारियो क्लियर हुनुप¥यो नि, सरकारले कस्तो नीति लिन्छ भन्ने हेर्नै पाएको छैन’ उनले भने, प्रचण्डजीको अनुहार हेरेर समर्थन गरिदिने भनिदिउँला, तर अनुहारले मात्र हुँदैन, त्यहाँ अनेक छन् के के गर्छन् थाहा छैन ।

सरकारमा संलग्न दलहरुले सरकार बनाउँदा र नीति तथा कार्यक्रम बनाउँदा नसोधेको भन्दै सरकारमा जान हतार गर्न नहुने अध्यक्ष नेपालले बताए ।अध्यक्ष नेपालले आफ्नो पार्टीले थ्रेसहोल्ड नकटाए पनि कुनै फरक नपरेको पनि बताएका छन् । युवा संघ नेपालले काठमाडौंमा आयोजना गरको कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नै नेता-कार्यकर्ताको कारणले राष्ट्रिय पार्टी बन्न नसकेको बताए ।

‘हामीले १० सीट जितेका छौँ । हामी आफ्नो कमजोरीले मत बाकसमा खसाल्न सकेनौँ । जनताको मत हाम्रो पक्षमा नभएको होइन । हाम्रो नेता कार्यकर्ताहरू जान सकेनन् । हाम्रो नेता कार्यकर्ताको कारणले हामीले ३ प्रतिशत कटाउन सकेनौँ’ उनले भने, ‘तर, थ्रेसहोल्ड नकटाए पनि हामीलाई केही पनि छैन । थ्रेसहोल्ड पार गरेको भए हामीलाई हेलिकप्टर दिन्थ्यो कि हवाइजहाज दिन्थ्यो कि ? केही दिनेवाला थिए । पार्टी अफिस वा रकम दिने भन्ने पनि केही कुरा छैन ।’

उनले राष्ट्रिय पार्टी नबने पनि पार्टीका सांसदहरूलाई ह्वीप लाग्ने बताए । सबै एकजुट भएर लाग्न सकेको भए २५ सीट आसपास पुग्नसक्ने देखिएको नेता नेपालको दाबी छ ।