२० पुस, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा सरकारको प्रभावकारिता, न्यूनतम साझा नीति कार्यक्रमलगायत विषयमा उहाँहरूबीच छलफल भएको थियो । गत बिहीबार बसेको सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न अध्यक्ष ओलीको संयोजकत्वमा कार्यदल बनाएको थियो ।
प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँ विभिन्न राजनीतिक दलसहित एक सय ६९ सांसदको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । नेपालको संविधानको धारा ७६ उपधारा (२) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।
भागबन्डा मिले जसपा सरकारमा सहभागी हुने
जनता समाजवादी पार्टी (जसपा) नेपालले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
जसपाको आज यहाँ सम्पन्न राजनीतिक समितिको बैठकले सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने र नभए बाहिरबाट समर्थन गर्ने निर्णय गरेको हो । जसपाका प्रवक्ता मनिस सुमनका अनुसार सरकारको नीति तथा कार्यक्रम एवं शक्ति बाँडफाँटको आधारमा सहभागी हुने अन्यथा सरकारलाई बाहिरबाट समर्थन गर्ने निर्णय भएको छ ।
बैठकले विभिन्न दल तथा सङ्गठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि पार्टीका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । समितिमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहनुभएको छ ।
त्यसैगरी बैठकले निर्वाचनमा अन्तर्घात गर्ने सङ्घीय परिषद् र केन्द्रीय सदस्यबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा पाँच सदस्यीय समिति पनि गठन गरेको छ । निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई भने सम्बन्धित समितिले विधानअनुसार कारबाही गर्ने राजनीतिक समितिले निर्णय गरेको छ ।
यस्तै विधान अधिवेशनका लागि विधानको मस्यौदा बनाउन अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा ११ सदस्यीय विधान मस्यौदा समितिसमेत गठन गरेको छ । उक्त समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, सुशीला श्रेष्ठ, शिवलाल थापामगर, लालबाबु राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवती सुवेदी रहनुभएको प्रवक्ता सुमनले जानकारी दिनुभयो ।