भारतबाट बढेर आयो इन्धनको मूल्य ?

हाम्रो सन्देश संवाददाता

१८ पुस, काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ। निगमले आज बेलुका प्रेस विज्ञप्ति जारी गर्दै इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको भए पनि भाउ यथावत् राखेको जनाएको हो।

स्वचालित मूल्य प्रणालीअनुसार अन्तरराष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर आइओसीले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ। अहिले आइओसीबाट मट्टितेलबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको निगमले जनाएको छ।

‘हाल अन्तरराष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सञ्चालन राख्न र इन्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवं नेपाल सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतीपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ’, निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

आइओसीबाट निगमले आज पाएको मूल्यसूचीबमोजिम पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ ५४ पैसा, डिजेलमा २ रूपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रूपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ७८ रूपैयाँ २२ पैसा बढेर आएको छ। मट्टितेलको मूल्य भने केही घटेर आएको निगमले जनाएको छ।

अन्तरराष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि निगम नोक्सानीमा रहँदै आएको छ। अहिले निगमलाई हाल खाना पकाउने ग्यासमा ३ सय ५९ रूपैयाँ ५० पैसा घाटा रहेको छ।

ग्यासमा मात्रै १५ दिनमा ४६ करोड ४४ लाख रूपैयाँ बराबर घाटा हुने निगमको अनुमान छ तर पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको बिक्रीबाट हुने नाफाको गणना गर्दा समग्रमा निगमलाई १५ दिनमा अनुमानित ९९ करोड रूपैयाँ बराबर नाफा हुने जनाएको छ।

निगमले आइओसी र सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी १८ अर्ब रूपैयाँ बक्यौता रहेको छ। यसअघि निगमले पुस १ गतेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो। हाल पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७८, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १ सय ७५ रूपैयाँ रहेको छ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ सय ९० र बाह्यतर्फ १ दशमलव ६४ अमेरिकी डलर रहेको छ। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८०० रूपैयाँ रहेको छ।