माओवादी केन्द्र गण्डकीको संसदीय दल नेतामा चुमान चयन

हाम्रो सन्देश संवाददाता

१८ पुस, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन हुनुभएको छ ।

सो दलको आइतबार साँझ बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र नं १ (२) बाट प्रत्यक्ष निर्वाचित चुमानलाई सर्वसम्मत दल नेता चयन गरेको माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार ज्येष्ठ सदस्य कृष्ण धितालको अध्यक्षतामा दलको बैठक बसेको थियो ।

संसदीय दलको नेता बाहेकका अन्य पदाधिकारी पछि चयन गरिने माओवादीले जनाएको छ । साठी सदस्सीय प्रदेशसभामा माओवादीका प्रत्यक्ष निर्वाचित पाँच र समानुपातिकका तीन गरी आठ सदस्य छन् ।

माओवादी केन्द्र गण्डकी प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहितको संयुक्त बैठकले प्रदेश संसदीय दलको नेतामा चुमानलाई बनाउने र संसदीय दल बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको थियो । पार्टीको बैठकपछि संसदीय दलको बैठक बसेर दल नेता चुनेको हो ।

दलको नेतामा चयन हुनुभएका चुमान यसअघि गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री भएर तीन वर्ष काम गर्नुभएको थियो । उहाँ सो पार्टीका पोलिटब्युरो सदस्य समेत हुनुहुन्छ । संसदीय दलको बैठकमा माओवादी केन्द्रका केन्द्रीय सचिव एवं प्रतिनिधिसभामा सो दलका प्रमुख सचेतक हितराज पाण्डेले आगामी संसद् बैठकमा जिम्मेवार भएर जनतामा समस्यालाई उठाउन निर्देशन दिनुभएको थियो ।

मधेस प्रदेशः प्रदेशसभाको पहिलो अधिवेशन आज
मधेस प्रदेशसभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ । नवनिर्वाचित प्रदेशसभाको पहिलो अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेको अध्यक्षतामा सुरु हुन लागेको अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूचीमा चार वटा विषय रहेका प्रदेशसभा सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ ।

त्यस्तै प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेश गर्नुका साथै नियमावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन हुने सचिव यादवले बताउनुभयो ।

बैठकमा अधिवेशन प्रारम्भ भएको अवसरमा प्रदेशसभामा रहेका दलका प्रतिनिधिले वक्तव्य दिने र नियमावलीको नियम ७ बमोजिम सभामुखको निर्वाचनको मिति तोक्नेसम्बन्धी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीसमेत रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्थानुसार यही पुस १४ गते प्रदेश प्रमुख हरिशङ्कर मिश्रले अधिवेशन आह्वान गर्नुभएको थियो ।